logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतले पाकिस्तान माथि आक्रमण गर्न सक्छ : प्रधानमन्त्री खान


  • राजनीति
  • आइतबार, पुष ६ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोधमा भारतभर भइरहेको विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तानविरुद्ध आक्रमण गर्न सक्ने अनुमान गरेका छन् । यदि भारतले त्यसो गरेमा पाकिस्तानले गतिलो जवाफ फर्काउने उनले चेतावनी दिएका छन् ।

भारतले हिन्दु राष्ट्रवादलाई बढावा दिन आन्दोलन भड्काउन चाहेको इमरान खानको आरोप छ । यदि यस्तो भएमा कडा प्रतिकार गर्नुबाहेक अरु कुनै विकल्प नरहने उनको भनाइ छ ।

इमरान खानले ट्वीटरमा लेखेका छन्, ‘यदि भारतमा विरोध प्रदर्शन बढेमा पाकिस्तानमाथि भारतको खतरा झन् बढ्छ । भारतीय सेना प्रमुखको बयानले यी आशंकालाई पुष्टि गर्छ ।’

भारतीय स्थल सेना प्रमुख विपिन रावतले हालै भारत–पाकिस्तान सीमामा स्थिति खराब हुन सक्ने अभिव्यक्ति दिएका दिए । उनी ३१ डिसेम्बरमा अवकास हुँदैछन् । त्यसपछि रावतको अवकाशपछि मनोज मुकुन्द नरवणेले भारतको स्थल सेनाको जिम्मेवारी सम्हाल्ने छन् ।

नागरिकता विधेयकविरुद्धको प्रदर्शनले भारतमा जनआन्दोलनको रुप लिइसकेको बताउँदै इमरान खानले लेखेका छन्, ‘पछिल्लो पाँच वर्षदेखि मोदी सरकारको नेतृत्वमा भारत हिन्दु श्रेष्ठता र फासीवादी विचारधारामार्फत अगाडि बढिरहेको छ । नागरिकता संशोधन कानुनविरुद्ध जो भारतीय सडकमा छन्, उनीहरु भारतमा विविधता कायम रहोस् भन्ने चाहान्छन् ।’

इमरान खान नेतृत्वको मन्त्रिपरिषदका एक सदस्य चौधरी फवाद हुसेनले पनि नागरिकता संशोधन कानुनमार्फत् मोदीप्रति निशाना साधेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘नयाँ नागरिकता कानुनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु प्रहरीको गोलीबाट मारिएको घटनाबाट के थाहा हुन्छ भने भारत मोदीलाई प्रधानमन्त्री बनाउँदाको मूल्य चुकाइरहेको छ । अल्पसंख्यकहरुका लागि भारत खतरनाक बनिसकेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार