भारतमा निर्भया मामिलाका चारजना दोषीविरुद्ध सुनाइएको मृत्युदण्ड सजाय अनिश्चितकालका लागि स्थगित भएको छ। सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीमा २३ वर्षीया मेडिकल छात्रा निर्भयामाथि सामूहिक बलात्कारपछि हत्या भएको थियो।
उक्त घटनाका मुख्य चार दोषीलाई दिल्लीको एक अदालतले भोलि फेब्रुअरी एक तारिखका दिन फाँसी दिन आदेश दिएको थियो। तर, फाँसीको एक दिन अगाडि शुक्रबार पटियाला अदालतले अर्को आदेश नभएसम्म सजाय कार्यान्वयन नगर्न आदेश दिएको हो। चार दोषीमध्ये एकजनाले सजाय माफीका लागि राष्ट्रपतिसमक्ष पेस गरेको निवदेनको अन्तिम निर्णय आउन बाँकी रहेकाले भोलिको फाँसी सजाय टरेको हो।
दोषी तर्फका वकिलले चार जना दोषी मध्ये एक जनाको माफी सम्बन्धी निवेदन राष्ट्रपति कहाँ विचाराधिन अवस्थामा रहेका बेला फाँसी दिनु गैर कानुनी हुने भन्दै अनिश्चितकालका लागि सजाय रोक्न अपिल गरेका थिए।
उक्त घटनाका चार दोषी अक्षय ठाकुर, पवन गुप्ता, विनय शर्मा, मुकेश सिंहलाई यसअघि जनवरी, २२ मा फाँसी दिने मिति तय भएको थियो। अदालतको आदेशप्रति भने निर्भयाकी आमाले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले सरकारले दोषीहरूलाई फाँसीको सजाय दिनबाट जोगाउन खोजिरहेको प्रतिक्रिया दिइन्।