उत्तरकोरियाली नेता किम जोङ उनले चीन कोरिया भाइरस विरुद्धको लडाईमा विजयी हुने विश्वास व्यक्त गरेका छन् । चीनमा नोबेल कोरोना भाइरसको महामारी फैलिएपछि उत्तरकोरियाको तर्फबाट एक सन्देश पठाउँदै नेता किमले सो विश्वास व्यक्त गरेका हुन् । उत्तरकोरिया र सत्तारुढ वर्कस पार्टीको तर्फबाट चीनलाई एक सन्देशपत्र पठाउँदै नेता किमले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी जिनपिङको बुद्धिमानी निर्देशनमा यो रोगविरुद्ध लड्ने अभियानमा त्यहाँको पार्टी, सरकार र चीनका जनता अवश्य विजयी हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।’
नेता किमले चीनमा आइलागेको यो आपतकालीन अवस्थामा निरन्तर सहयोग गर्ने घोषणा समेत गरेका छन् । नेता उनले चिनियाँ सत्तारुढ पार्टीका सदस्यहरु र रातदिन खटिरहेका चिकित्साकर्मीहलाई न्यानो अभिवादन सन्देश समेत पठाएका छन् । उनले उक्त संक्रमणका कारण आफन्त गुमाउने परिवारका लागि गहिरो सान्त्वना(समवेदना) समेत व्यक्त गरेका छन् । नेता किमले बिरामी चिनियाँ जनताको दुःखकष्टमा सहयोग गर्न र केही हदसम्म सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् । कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार त्यहाँको सत्तारुढ पार्टीको तर्फबाट चीनलाई सहायता कोष पनि पठाइएको छ । साथै प्योङयाङले सत्तारुढ पार्टीका तर्फबाट प्रतिनिधित्व गर्दै किम साङ नामलाई छिमेकी मुलुकको पछिल्लो अवस्था बुझ्न बेइजिङ पठाएको छ ।
उत्तर कोरियाले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि आफ्नो सिमाना पूर्णरुपमा बन्द गरेको छ । केही दिनअघिदेखि उत्तरकोरियाले दुई देशबीचको सीमाना बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै प्योङयाङबाट चीन, रसिया लगायतका देशहरुमा हुने उडान समेत बन्द गरिएको छ । मध्य चीनबाट कोरोना भाइरसको संक्रमण सुरु भएको केही दिनपछि नै एयर चाइनाले फेब्रुअरीको अन्तसम्मका लागि प्योङयाङ–बेइजिङ उडान बन्द गरेको छ भने अन्य एयरलाइन्स कम्पनीहरुले पनि उडान बन्द गरेका छन् ।
त्यस्तै कोरोनाभाइरसको संक्रमण पूर्ण रूपमा समाधान नभएसम्म उत्तर र दक्षिण कोरियाको सीमानामा संयुक्त रूपमा सञ्चालित सम्पर्क कार्यालयहरु पनि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको छ भने उत्तरकोरियाका सबै अन्तर्राष्ट्रिय पर्यटन गतिविधिहरु पनि प्रतिबन्धित गरिएको छ । साथै विदेशबाट आउने सबै विदेशीहरूलाई एक महिनाको लागि आउन रोकेको छ । यद्यपि, उत्तर कोरियाले अहिलेसम्म आफ्नो देशमा कोरोनाभाइरस संक्रमण नदेखिएको दाबी गरेको छ ।