कोरोनाभाइरसविरुद्धको लडाईँमा निकै कम मानिसहरूको स्वास्थ्य परीक्षण गरेको विषयलाई लिएर भारतले आलोचना बेहोर्दै आएको छ।
तर एकजना गर्भवती महिला भाइरसविद्ले बच्चा जन्माउनु केही घन्टाअघि परीक्षण कीट निर्माण गरेकाले अब स्थितिमा परिवर्तन हुने देखिएको छ।
भारतमा पहिलोपटक बनेको कीट बजारमा बिहीवारदेखि पुगेको छ। त्यसले मानिसहरूमा कोभिड-१९ भए नभएको पुष्टि गर्ने परीक्षणको दर बढाउन सकिने आशा जगाएको छ।
पश्चिमी सहर पुणेस्थित माइल्याब डिस्कभरी परीक्षण कीट बनाउने र बेच्ने अनुमति पाउने भारतको पहिलो कम्पनी भएको छ। उसले पुणे, मुम्बई, दिल्ली, गोवा र बङ्गुलुरूस्थित प्रयोगशालाहरूमा १५० वटा पहिलो परीक्षण कीटको पहिलो उत्पादन पठाएको छ।
माइल्याब डिस्कभरीका मेडिकल मामिला निर्देशक डा. गौतम वानखेडेले बीबीसीलाई भने, “हाम्रो उत्पादन समूहले हप्ताभरि नै काम गरिरहेको छ र अर्को खेप पनि पठाउँछौँ।”
एचआईभी र हेपाटाइटिस बी र सीका निम्ति परीक्षण कीट बनाउने गरेको मोलिक्युलर डाइगनोस्टिक कम्पनीले पनि कोभिड-१९ को परीक्षण कीट एक सातामा एक लाखसम्म आपूर्ति गर्न सक्ने जनाएको छ।
आवश्यकता परेमा दुई लाखसम्म निर्माण गर्न सक्ने उसको भनाइ छ।
माइल्याबले बनाएका प्रत्येक कीटले एक सयवटा नमुना परीक्षण गर्न सक्छन् र त्यसको मूल्य १२ सय भारतीय रूपियाँ पर्छ। भारतले बाहिरबाट ल्याउने कीटको मूल्य ४५ सयको तुलनामा त्यो करिब एक चौथाइ हुन आउँछ।
कीट बनाएलगत्तै बच्चा जन्माइन्
माइल्याबकी अनुसन्धान र विकास प्रमुख रहेकी भाइरसविद् मिनल दखावे भोसले भन्छिन्, “आयात गरिने कीटले सात-आठ घन्टामा परीक्षणको परिणाम दिन्छ जबकी हाम्रो कीटले अढाई घन्टामै परीक्षणको परिणाम दिन्छ।”
भोसलेले पाथो डिटेक्ट नाम दिइएको परीक्षण कीट तयार गरेको समूहको नेतृत्व गरेकी थिइन्। उनले कीर्तिमानी ढङ्गले छ हप्तामै कीट बनाएको बताइन्।
उनको आफ्नै समयसीमाका कारण वैज्ञानिकहरूले सङ्घर्ष गरिरहेका थिए। किनकि उनले गत साता मात्रै छोरी जन्माइन्। गर्भाधानसँग सम्बन्धित जटिलता उत्पन्न भएका कारण अस्पताल भर्ना भएर त्यहाँबाट निस्किएको केही दिन लगत्तै गत फेब्रुअरी महिनामा काम सुरु गरिएको थियो।
“यो निकै सङ्कटकालीन स्थिति थियो त्यसैले मैले त्यसलाई चुनौतीको रूपमा लिएँ। मैले मेरो देशको सेवा गर्नुपर्छ,” उनले परियोजना सफल तुल्याउन समूहका १० जना सदस्यले निकै कडा परिश्रम गरेको सुनाउँदै भनिन्।
अन्तिममा उनले बच्चालाई जन्म दिनु एक दिनअघि मार्च १८ मा न्याश्लन इन्स्टीच्युट अफ भाइरोलोजी (एनआईभी) समक्ष मूल्याङ्कनको निम्ति कीट बुझाइन्।
त्यही साँझ अस्पतालमा शल्यक्रियाको निम्ति भर्ना हुनु एक घन्टाअघि उनले व्यावसायिक प्रयोजनको अनुमति लिन उक्त परियोजनाको प्रस्ताव भारतको नियामक निकाय (सीडीएससीओ) मा बुझाएकी थिइन्।
“हामीसँग समयको दबाव थियो,” डा. वानखेडे भन्छन् – “हाम्रो सम्मानको कुरा पनि थियो, पहिलोपटकमै हामीले सबै राम्रो गर्नु थियो र मिनलले हाम्रो प्रयासको अगुवाई गरिरहेकी थिइन्।”
मूल्याङ्कनको निम्ति कीट बुझाउनुअघि उक्त समूहले परीक्षण ठीक र विधिसम्मत रहेको कुरा सुनिश्चित गर्न सबै मापदण्डको परीक्षण र पुन: परीक्षण गर्नु पर्ने थियो।
“एउटै नमुनालाई दशपटक परीक्षण गर्दा उही परिणाम आउनुपर्छ”, भोसलेले भनिन्, “र, हामीले त्यो सफलता पायौँ। हाम्रो कीट परिपूर्ण देखियो।”
सरकारी मेडिकल अनुसन्धान परिषद् (आईसीएमआर)ले सहमति दियो। उसले शतप्रतिशत परिणाम प्राप्त गर्ने भारतको एकमात्र कम्पनी माईल्याब भएको बतायो।