पछिल्ला दिनमा अमेरिका कोरोना (कोभिड—१९) भाइरसको मुख्य केन्द्र बनेको छ । भाइरस उत्पत्ति भएको चीन र त्यसकै कारण ठूलो मानवीय क्षति भएको युरोपेली देशहरूबाट पाठ सिक्न नसक्दा अमेरिकाले अहिले ती देशमा भन्दा ठूलो क्षति बेहोरिरहेको छ । अमेरिकावासीका लागि आगामी दिनमा अझै पीडादायी हुने प्रक्षेपण गरिएको छ । बिहीबारसम्म अमेरिकामा कोरोनाबाट ६ हजारको मृत्यु र २ लाख ५० संक्रमित छन् । त्यहाँ ठूलो संख्यामा कोरोनाबाट संक्रमित हुनुमा निम्न आधार देखिन्छन्ः
मेडिकल सामग्रीको अभाव
विज्ञहरूका अनुसार कोरोना प्रभावित क्षेत्रमा मास्क, गाउन, भेन्टिलेटरजस्ता अत्यावश्यकीय वस्तुको चरम अभाव छ । मेडिकल सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीले बारम्बार त्यसैलाई पुनप्रयोग गर्न बाध्य भए भने केही काम चलाउ सामग्री बनाए । न्युयोर्कका गभर्नर एन्ड्रिउ कुओमले राज्यमा मेडिकल उपकरणको चरम अभाव भएको गुनासो गर्दै आएका थिए । तर, सरकारले त्यसलाई गम्भीर ढंगले लिएन ।
कोरोनाजस्तो महामारीसँग लड्न अमेरिकाले अत्यावश्यकीय मेडिकल उपकरणको पर्याप्त भण्डारण गर्न सकेन । जब स्थिति भयावह भयो तब सरकारले सुस्त गतिमा प्रबन्ध गर्न थाल्यो । जर्ज वासिङ्टन युनिभर्सिटीका प्राध्यापक जेफ्री लेभी भन्छन्, ‘एकातिर हामीसँग मेडिकल उपकरणलाई भण्डारण गरेनौँ, अर्कोतर्फ महामारी फैलिएपछि पर्याप्त उत्पादन गर्न सकेनौँ ।’
परीक्षणमा ढिलाइ
जर्ज वासिङ्टन युनिभर्सिटीका प्राध्यापक लेभीका अनुसार दक्षिण कोरिया कोरोना नियन्त्रण गर्न सफल हुनुको मुख्य कारण त्यहाँ भएको परीक्षणमा गरिएको तीव्रता हो । अमेरिकाले समयमै परीक्षण मात्र गरेर चीनको भाइरस भनेर हेलचेत्र्mयाइँ ग¥यो । ‘महामारीको प्रकृतिलाई समयमै मूल्यांकन गर्न नसक्दा अमेरिकाको यस्तो हालत भयो,’ प्राध्याकपक लेभी भन्छन् ।
अमेरिकी स्वास्थ्य अधिकारी आगामी दिनमा भाइरसको केन्द्र कुन स्थानमा हुन्छ भन्ने आकलन गर्न असफल भए । बृहत् परीक्षणको अर्थ संक्रमित बिरामीको समयमै पहिचान गरी संक्रमितलाई आइसोलेट गर्नु हो । तर, ट्रम्प प्रशासनले महामारीलाई नजरअन्दाज गर्दा परीक्षणमा ढिलाइ मात्र भएन, केही त्रुटि पनि देखिएका थिए । ट्रम्प प्रशासनले फेब्रुअरीमा केही सीमित ल्याबमा गरेका परीक्षण आफैँमा त्रुटिपूर्ण रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
मार्च महिनाको मध्यसम्म ५० लाख मानिसहरूको परीक्षण गर्ने ट्रम्प प्रशासनले बताउँदै आएको थियो । तर, ३० मार्चसम्म १० लाखको मात्र परीक्षण भएको एउटा स्वतन्त्र विश्लेषकको तथ्यांकमा उल्लेख छ । ३२९ मिलियन जनसंख्या भएको अमेरिकाका लागि त्यो परीक्षण निकै सानो हो । परीक्षणमा ढिलाइ हुँदा संक्रमणको आशंका लागेका मानिस समयमै आइसोलेसनमा बस्न सकेनन् र महामारी झनै बल्झियो ।
राष्ट्रपतिको नजरअन्दाज र राजनीतिक विवाद
मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रका लागि आगामी दिन अझै सुखद नहुने बताएका थिए । ‘आगामी दिन अझै जटिल हुने भएकाले त्यसका लागि तयार हुन आमअमेरिकावासीलाई आह्वान गर्दछु ।’ ट्रम्पले भनेका थिए ।
जानाकारहरूका अनुसार ट्रम्पको होस वास्तवमै ढिलो खुलेको थियो । उनको अभिव्यक्तिपछि ट्रम्प प्रशासनका अधिकारीहरूले अहिले भइरहेका नियन्त्रणका प्रयासका बाबजुद पनि कम्तीमा १ लाख अमेरिकीको मृत्यु हुने बताएका थिए । ट्रम्पका अभिव्यक्ति एक साताअघि व्यक्त गरेका धारणाविपरीत थिए, जतिवेला उनले मध्य अप्रिलसम्ममा अमेरिकाले कारोना नियन्त्रणमा लिइसक्ने र सम्पूर्ण उद्योगधन्दा पुनः सञ्चालन हुने बताएका थिए ।
जनवरीमा कोरोनाले चीनका उद्योगधन्दा तहसनहस हुँदा तथा इटालीमा ठूलो संख्यामा मानिसहरूको मृत्यु हँुदा राष्ट्रपतिले बारम्बार महामारीबारे बेवास्ता गरेका थिए । अमेरिकामा कोरोना संक्रमणका केही घटना देखिँदा ट्रम्प र अन्य सरकारी निकायले कोरोना नियन्त्रणमा आइसकेको र आगामी गृष्म मौसममा जादुमय ढंगमा हराउने दाबी गरेका थिए ।
‘उच्च तहबाट कोरोनाबारे व्यक्त धारणा नै आफैँमा समस्याग्रस्त थिए,’ प्राध्यापक लेभी भन्छन्, ‘महामारीका लागि तयारी एउटा निरन्तर परिवर्तित वातावरण हो । तथापि, त्यतिवेला नेतृत्वमा रहेका व्यक्तिको धारणा परिवर्तन नहुन सक्छ ।’
त्यस्तै, कोरोना नियन्त्रण गर्ने सबालमा राष्ट्रपति र विभिन्न राज्यका गर्भनरबीच मतऐक्यता देखिएन । सावधानी दर्शाउन खोज्दा उनले न्युयोर्कका गर्भनर एन्ड्रिय कुओमोको आलोचना मात्र गरेनन्, कोरोना नियन्त्रणका योजना ल्याउने मिसिनगनका गभर्नर ग्रिटचेन ह्विटमिरको खिल्लीसमेत उडाए ।
सामाजिक दूरी कायम भएन
अमेरिकामा ठूलो मानवीय क्षति हुनुको अर्को मुख्य कारण सामाजिक दूरी पालना नहुनु पनि हो । कलेज ब्रेक हुनेबित्तिकै विद्यार्थीहरू प्mलोरिडाको समुद्री तटमा भिडमा देखिन्थे । संक्रमण फैलिरहेका वेला न्युयोर्क सिटीमा कारको ताँती गुड्थे। जमघट हुन रोक लगाइए पनि लुइसियानको एउटा चर्चमा हजारौँको भिड रोकिएन । त्यस्तै, रेस्टुरेन्ट होटेल, क्लबलगायतका सार्वजनिक स्थलमा सामाजिक दूरीको कुनै हेक्का राखिएन । जसका कारण एक व्यक्तिबाट सजिलै अर्को व्यक्तिमा भाइरस फैलियो । यदि सामाजिक दूरी कायम हुन्थ्यो भने अहिले एकै दिनमा २५ हजार अमेरिकी संक्रमित हुँदैनथे भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
सामाजिक सम्पर्क टाढा राख्न राज्य र स्थानीय सरकारी अधिकारीले बारम्बार गरेका आह्वानलाई सर्वसाधारणले अवज्ञा गरिरहे । केही दिनअघि प्mलोरिडाको तटमा भेटिएका एक अमेरिकीले सिबिएस न्युजलाई भनेका थिए, ‘मलाई कोरोना भए संक्रमित हुन्छु, ‘तर मलाई साँझ पार्टी जानबाट कसले रोक्न सक्छ ?’ । संक्रमित व्यक्तिले सयौँलाई जानी–जानी संक्रमण गरिने प्रवृत्तिसमेत देखियो । त्यस्तै, कतिपय अवस्थामा राज्य सरकारले नै उद्योगधन्दा बन्दको निर्देशन दिनसमेत अनिच्छा देखाए, जसका कारण अमेरिका अहिले अँध्यारो दुष्चक्रमा फसेको छ । आजकाे नया पत्रिकामा खबर छ ।