भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना संक्रमण थप विस्तार हुनबाट जोगाउन आगामी तीनदेखि चार साता निकै जटिल हुने बताउँदै आएका छन् । कोरोना संक्रमण दिनहुँ बढिरहेका वेला मोदीको भनाइप्रति देशका स्वास्थ्यविज्ञहरूले पनि सहमति जनाउँदै आएका छन् ।
यही जनवरी ३० मा देशमा कोरोना संक्रमणको पहिलो घटना देखिएसँगै भारतले त्यसलाई नियन्त्रण गर्न विभिन्न कदम चालिरहेको छ । उसले कोरोना परीक्षणलाई बृहत् बनाएको छ भने उपनिवेशकालीन १२२ वर्ष पुरानो कानुन व्युँताएर सार्वजनिक रूपमा भेला हुन रोक लगाएको छ । थप तीन साता लकडाउन लम्बाइएको छ र लकडाउन पालना नगर्नेमाथि कडा कारबाही चलाइएको छ ।
२१ दिनदेखि सवा अर्बभन्दा बढी जनसंख्या घरभित्रै सीमित छ भने रेल तथा हवाईसेवा ठप्प प्राय छन् । लकडाउनका कारण निम्न वर्गका जनता निकै कष्टकर जीवन बिताउन बाध्य छन् । मजदुरहरू भोकै बस्न बाध्य छन् । लकडाउनकै कारण मजदुरहरू सयाैँ माइल पैदल हिँडेर आफ्नो गन्तव्यतर्फ लागेका छन् । सरकारले मजदुर वर्गका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने बताए पनि पीडितहरूले सो सुविधा पाउन नसकेको बताइन्छ । कोरोनाबाट अहिलेसम्म ३५८ जनाको मृत्यु भइसकेको छ भने साढे १० हजार संक्रमित छन् ।
‘परीक्षण दायरा फराकिलो भएन’
अहिलेसम्म भारतमा २ लाखको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ४ दशमलब ३ प्रतिशतमा पोजेटिभ देखिएको छ । तर, जनसंख्याको अनुपातमा परीक्षणको दायरा निकै कम भएको विज्ञहरूले बताएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले विभिन्न कदम चालेको छ । कोरोना फैलिएका केही महत्वपूर्ण क्षेत्रको पहिचान गरेको छ । परीक्षणका क्रममा दर्जनाैँ जिल्लामा संक्रमण फैलिएको पत्ता लागेको छ । अधिकांश हटस्पटको पहिचान भएको र संक्रमणको आशंका गरिएका अन्य क्षेत्रलाई सिल गरिएको छ । लकडाउनलाई अझै निरन्तरता दिन सकेमा यस्ता क्षेत्रको थप पहिचान हुने सरकारको विश्वास छ ।
भारतले कसरी कोरोना नियन्त्रण गर्ला भनेर विश्वका विभिन्न विज्ञहरूले चासोपूर्वक अवलोकन गरिरहेका छन् । यहाँ ठूलो जनघनत्व र कमजोर स्वास्थ्य प्रणालीले कोरोना नियन्त्रणको पहललाई चुनौती दिएको छ । आगामी दुई–तीन दिनमा भाइरसको प्रभाव अझै ठूलो देखिने विज्ञहरू बताउँछन् ।
भारतमा संक्रमण नियन्त्रणका प्रयासबारे नजिकबाट अध्ययन गरिरहेका विज्ञ समिका रभीका अनुसार महामारी नियन्त्रणमा सरकारले गरेका पहल सन्तोषजनक छन् । उनका अनुसार हरेक सात दिनमा एक्टिभ केसको संख्या दोब्बर छ, तर यो दर पहिलेको तुलनामा अहिले केही घटेको छ । त्यस्तै, अहिलेको मृत्युदर पनि खासै ठूलो होइन, तथापि संक्रमित संख्या दिनहुँ बढिरहेको छ ।
’आगोझैँ फैलिएको महामारीविरुद्ध सरकारले तीव्र कदम चालेकाले केही हदसम्म कमी आएको छ,’ रभी भन्छिन् । संक्रमितसँगको सम्पर्क भएका व्यक्तिको धमाधम पहिचान गरिएको उनको दाबी छ । तर, अस्पतालमा उपचार भइरहेका अधिकांश संक्रमितको अवस्था गम्भीर रहेको बताइन्छ । इन्डोर सहरको एक निजी अस्पतालमा कोभिड–१९ का १४० बिरामीमध्ये एकतिहाइको अवस्था गम्भीर छ । सुरुका दिनमा सो अस्पतालमा दैनिक ४० जना संक्रमित आउने भए पनि अहिले सो संख्या घटिरहेको डा. रभी डोसी बताउँछन् ।
थप खराबका लागि भारत तयार हुनुपर्छ : भाइरलविज्ञ ज्याकोब
भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजका पूर्वप्राध्यापक तथा भाइरलविज्ञ टी ज्याकोब जोनका अनुसार भारत अझै ठूलो खराबीका लागि तयार हुनुपर्छ । ‘भारतमा आगामी दुई महिनाभित्र अझै ठूलो समस्या देखिन सक्छ ।’ उनी भन्छन् । भारतमा कोरोना संक्रमण समुदायमा विस्तार भएको छ, यद्यपि त्यहाँको स्वास्थ्य मन्त्रालयले यसलाई अस्वीकार गर्दै आएको छ । डा. रभीका अनुसार आगामी हरेक साता भारतका लागि गम्भीर छन् । त्यसपछि भारतमा कोरोना परीक्षणका लागि लाखौँ किट र दक्ष जनशक्तिको आवश्यकता पर्नेछ । त्यस्तै, परीक्षणका लागि दशाैँ हजार नमुना ल्याबमा पु-याउन पनि त्यति सहज छैन ।
सरकार भाइरसविरुद्धको युद्धमा लागिपरेकाले सबै पक्षले सहयोग गर्नुपर्ने डा. जोन बताउँछन् । प्रधानमन्त्री मोदीले रोग नियन्त्रणका लागि गरेको आह्वान तथा सरकारी अधिकारीले गरेको नियमित ब्रिफिङका बाबजुद पनि भाइरस विस्तारबारे सरकारले प्रदान गरेका सूचना र परीक्षणको दायरा अस्पष्ट भएको बताइन्छ । गत सातादेखि मात्र सबैलाई मास्क लगाउन अनिवार्य गरिएको थियो । उपर्युक्त स्वास्थ्य प्रणालीका कारण दक्षिणी राज्य केरलामा कोरोना नियन्त्रणमा चालिएको कदम प्रभावकारी देखिएको छ ।
भारतमा कोरोना परीक्षणको दायरा अझै बढाउनुपर्ने विज्ञहरूले जोड दिँदै आएका छन् । तर, केही विज्ञहरू भने परीक्षणभन्दा पनि उपचारमा जोड दिनुपर्ने तर्क गर्छन् । एक विज्ञ भन्छन्, ‘परीक्षणभन्दा उपचारतर्फ केन्द्रित हुनुपर्छ । रोगका कारण र यसको नियन्त्रणभन्दा पनि हामी केवल रोगको लक्षणतर्फ केन्द्रित भयाैँ ।’ उनी भन्छन् । आजकाे नयाँ पत्रिकामा खबर छ ।