ताइवानमा संक्रमण फैलिनुअघि नै नियन्त्रणका उपायहरू अपनाइएकाले कोरोनाभाइरस महाव्याधिले धेरै क्षति पुर्याउन पाएन । अहिले ताइवान युरोपेली संघ तथा अन्य मुलुकमा लाखौं मास्क निर्यात गरिरहेको छ ।
जर्मनीमा युरोपभरिकै सबभन्दा विशाल स्तरको परीक्षण कार्यक्रम चलाइएको छ । त्यहाँ प्रत्येक हप्ता तीन लाख ५० जनाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । भाइरसलाई पहिले नै पत्ता लगाएर रोगीहरूलाई एकान्तवासमा राख्ने र प्रभावकारी उपचार दिने काम गरिँदैछ ।
न्युजील्यान्डमा प्रधानमन्त्रीले पर्यटनमा रोक लगाएर पूरै देशमा एक महिनाको बन्दाबन्दी घोषणा गरेपछि कोरोनाभाइरसका कारण जम्मा चारजनाको मृत्यु भएको छ ।
यी तीनै देशले कोरोनाभाइरसको प्रभावकारी व्यवस्थापन गरेकोमा प्रशंसा बटुलिरहेका छन् । यिनीहरूमा एउटा कुरा समान छ : देशको नेतृत्व महिलाले गरिरहेका छन् ।
यीबाहेक अन्यत्र पनि महिलाको नेतृत्वमा रहेका देशले महाव्याधिको व्यवस्थापनमा पाएको सफलता लोभलाग्दो छ । विश्वनेतामा ७ प्रतिशत मात्र महिला छन् ।
यी तीनै देशमा बहुदलीय लोकतान्त्रिक व्यवस्था छ र सरकारप्रति जनताको उच्च विश्वास छ । यिनीहरूले शीघ्र कदम चालेर वैज्ञानिक हस्तक्षेप गरेका कारण महाव्याधि रोक्न सफल भएका हुन् । उनीहरूले व्यापक मात्रामा स्वास्थ्य परीक्षण गराए, गुणस्तरीय स्वास्थ्योपचारमा सहज पहुँच दिलाए, कन्ट्याक्ट ट्रेसिङलाई आक्रामक रूपमा अघि बढाए र सामाजिक भेलाहरूलाई रोक्न कडा कदम चाले ।
पाँचवटा नर्डिक मुलुकमध्ये चारवटामा महिलाले नेतृत्व गरिरहेका छन् । ती देशमा युरोपका अन्य देशको तुलनामा कोरोनाभाइरसजन्य मृत्युदर कम छ । स्विडेनमा चाहिँ पुरुषको नेतृत्व छ र त्यहाँ कोरोनाभाइरसको स्थिति नाजुक छ ।
पुरुष शासकहरूको कुरा गर्दा दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले संक्रमण रोक्न पाएको सफलताको प्रशंसा भएको छ । तर धेरै देशमा अक्षम र विज्ञानविरोधी पुरुषको नेतृत्वमा कोरोनाभाइरस संक्रमण भयानक देखिएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतका पुरुष नेताले आफ्नो देशमा कोरोनाविरुद्ध पर्याप्त पूर्वतयारी नगरिदिँदा मृत्युदर बढेको हो ।
कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि कुन नेताले पर्याप्त रूपमा सही कदम उठाएको भन्ने कुरा सुनिश्चित रूपमा भन्नका लागि अलि हतारो हुनेछ । तर माथिका केही उदाहरणहरूले चाहिँ शीघ्र र निर्णायक निर्णय लिने नेताहरू महिला नै रहेको देखाएको छ ।
सीएनएनबाट