logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउन नमान्नेलाई कुकुरकाे खाेर, राहत माग्नेलाई जेल


  • बिबिसि
  • शनिबार, बैशाख ६ २०७७

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन आग्रह गर्दै आएको छ । सुरक्षाकर्मीहरु पनि लकडाउनको पालना गराउन ठाउँठाउँमा परिचालित छन् । तर मानिसहरुबाट लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन ।

नेपालमा लकडाउन उल्लंघन गर्नेहरुलाई सडकमा मुर्गा बनाएको, कान समातेर उठबस गराएको, पुसअप गराएको फोटो–भिडियो सार्वजनिक भएका छन् ।

तर, लकडाउनको नियम पालना नगर्नेहरुबाट हैरान भएपछि फिलिपिन्स सरकारले अनौठा र कडा खालका सजायको सहारा लिनुपरेको छ । २४ मार्चमा सेन इसिद्रो प्रहरीले कर्फ्यु उल्लंघन गर्नेहरुलाई चर्को घाममा बसालेको थियो र स्थानीय सरकारको फेसबुक पेजमार्फत् कर्फ्यु उल्लंघन गर्नेहरुलाई यस्तै सजायँ हुने घोषणा गरियो ।

यसैगरी केही दिन अगाडि सान्ताक्रुज, लगुना प्रान्तमा त कर्फ्यू उल्लंंघन गर्नेहरुलाईकुकुरको खोरमा थुनियो ।

फिलिपिन्समा कोरोना संक्रमण रोकथामका लागि राष्ट्रपति रोड्रिगो दुटर्टेको निर्देशनअनुसार कर्फ्यु लगाइएको छ । र, कर्फ्यु उल्लंघन गर्नेहरुलाई मात्र होइन, मास्क लगाउन नमान्नेहरुलाई पनि प्रहरीले पिटेको र गोली चलाएको खबरहरु सार्वजनिक भएका छन् ।

एक जना प्रहरी अधिकारीले रेडियोमार्फत् भनेका छन्, यदि कुनै व्यक्ति गलत समयमा घरबाहिर निस्कियो भने उसलाई गोली हानिने छ ।’

राष्ट्रपतिको धम्की– नियम उल्लंघन गर्नेलाई चिहानमा पुर्‍याइदिन्छु

अप्रिल १ तारिखमा राष्ट्रपति दुटर्टेले राष्ट्रको नाममा सन्देश दिँदै कर्फ्यु उल्लंघन गर्नेहरुलाई गोली हान्न सेना र प्रहरीलाई आदेश दिइएको स्पष्ट बताएका थिए । ‘यदि कोही आउँछ र मानिसको जीवन खतरामा पर्छ भने उसलाई तुरुन्तै गोली हानेर मार्न मैले सेना र प्रहरीलाई आदेश दिएको छु,’ उनले भनेका छन्, ‘नियम उल्लंघन गर्नेहरुलाई मैले चिहानमा पुर्‍याइदिन्छु । सरकारको धैर्यताको परीक्षा नलिइयोस् ।’

यो सन्देशको दुई दिनपछि मिन्दानाओमा एक ६३ वर्षीय किसानलाई गोली हानियो किनभने उनले मास्क लगाउन अस्वीकार गरेका थिए । प्रहरीले आफ्नो सफाइमा भनेको छ, उनले मदिरा सेवन गरेका थिए र एक जना स्वास्थ्यकर्मीलाई हँसियाले आक्रमण गरेका थिए ।

यो घटनाले पूरै फिलिपिन्समा बबाल मच्चियो । केही व्यक्तिले त राष्ट्रपति दुटर्टेलाई पदमुक्त गर्नुपर्छ पनि भने ।तर, पदमुक्त गर्नुपर्छ भन्नेहरुको आवाज सानो थियो । यहाँसम्मकी राष्ट्रपति दुटर्टेका परम्परागत समर्थकहरुले पनि यो घटनाको आलोचना गरे ।

दक्षिण फिलिपिन्सको मिन्दानाओका एक छात्र म्याथु जाकले एक वक्तव्य जारी गरी मानिसहरुलाई धम्क्याउनुको साटो कोरोना परीक्षणमा शक्ति लगाउन आग्रह गरे । उनले भनेका छन्, ‘स्वास्थ्य संकटको सामना सेना र प्रहरीको बलमा गर्ने सरकार छ भने तपाईंले अनुमान गर्न सक्नुहुन्छ उसको सोच कस्तो होला । आफ्नै नागरिकलाई धम्काउनु भन्दा सरकारले कोरोना परीक्षण र जनतालाई आर्थिक सहायता पुर्‍याउनेतर्फ आफ्नो शक्ति खर्च गर्नुपर्छ ।’

दुटर्टेको तानाशाही शैली

फिलिपिन्सका राष्ट्रपति दुटर्टेको मानवअधिकार रेकर्ड पहिलेदेखि नै खराब छ । नशालु औषधि बेच्नेहरुविरुद्ध चलाइएको अभियानमा तीन वर्षको अवधिमा २० हजार जनालाई मारेको आरोप धेरै मानवअधिकार संगठनहरुलेदुटर्टेमाथि लगाउने गरेका छन् । यद्यपि सरकारले भने यो अभियानमा मारिनेहरुको संख्या ६ हजारभन्दा बढी नरहेको बताउने गरेको छ ।

संयुक्त राष्ट्रसंघमा पनि फिलिफिन्सको यस अभियानको अनुसन्धान हुनुपर्ने आवाज उठेको थियो । ह्युमन राइट्स वाच, फिलिपिन्सका एक शोधकर्ता कार्लोस कोंडेले भनेका छन्, ‘हजारौं गिरफ्तारीमा सबैभन्दा चिन्ताजनक पक्ष यो हो कि तिनीहरुलाई पहिलेदेखि नै भरिभराउ जेलमा कोचिएको छ, जहाँ सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका नियमलाई धज्जी उडाइएको छ । यस्ता गिरिफ्तारीबाट कोरोना भाइरस संक्रमण रोकिनुको सट्टा झन् फैलिन मद्दत पुग्छ ।’

दुटर्टेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरुदेखि नै कडा कदम चाल्दै आएका छन् । सबैभन्दा पहिले उनले राजधानी मनिला र पूरै लुजोन द्वीपमा लकडाउन घोषणा मात्र गरेनन्, बरु आन्तरिक र अन्तर्राष्ट्रियस सबै उडानहरु रद्द गरिदिए ।

२१ मार्चमा राष्ट्रपति कार्यालयले संसदसँग कोरोना भाइरसविरुद्ध लड्नका लागि सबै निजी क्षेत्रहरु सरकारी नियन्त्रणमा ल्याउने प्रस्ताव गरे । तर, यो प्रस्ताव अस्वीकृत भयो । त्यसपछि दुटर्टेले २५ मार्चमा नयाँ कानुन जारी गरे, जसअनुसार उनलाई थप ३० अधिकार प्राप्त भयो । र, निजी मेडिकल सुविधा र सार्वजनिक यातायातमा सरकारको नियन्त्रण कायम भयो ।

दुटर्टेले सरकारी प्रतिबन्ध उल्लंघन गर्नेहरुलाई २० हजार डलरसम्म जरिवाना पनि तोकेका छन् । जुन व्यक्ति वा संगठनले कोरोनाबारे झूठो सूचना फैलाउँछ, त्यसलाई पनि २० हजार डलरसम्म जरिवाना हुनसक्छ ।

सरकारको आलोचना

राजनीतिक विश्लेषकहरुले राष्ट्रपतिका कडा कदमहरुको विरोध गरेका छन् । राष्ट्रपतिसँग यस्ता खालका धेरै अधिकारहरु पहिलेदेखि नै भएको भन्दै यस्ता अधिकारले मात्र कोरोनाको महामारी फैलिन नरोकिने विश्लेषकहरुको भनाइ छ ।

फिलिपिन्सको नेशनल युनियन अफ जर्नालिस्टले पनि वाक स्वतन्त्रता कुण्ठित भएको भनेर आलोचना गरेको छ । उसले भनेको छ, ‘सही र गलत सूचना कुन हो भनेर तय गर्ने अधिकार सरकारलाई प्राप्त भएको छ । यसबाट वाक स्वतन्त्रतामा ठूलो धक्का लागेको छ ।’
सन् २०१७ देखि जेलमा बन्दी जीवन बिताइरहेका फिलिपिन्सका विपक्षी नेता लैला डी लीमाका अनुसार सरकारले कर्फ्यु र क्वारेन्टाइनमा बस्न नमान्ने १७ हजार जनालाई पक्राउ गरिसकेको दाबी गरेका छन् ।

सरकारले जनतालाई सुविधा दिनुको साटो नियन्त्रणमा जोड दिइरहेकाले धेरै व्यक्तिहरुको मृत्यु भइसकेको बताउँदै उनले भनेका छन्, ‘दुटर्टेको यस्ता कामले कोरोनाविरुद्धको लडाइँमा कुनै राहत मिल्ने कुनै संकेत देखिएको छैन ।’

राहत माग्नेलाई जेल, कोरोनाको कम परीक्षण

फिलिपिन्सका स्वास्थ्य विभागका अनुसार यहाँ ५ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जबकि ३ मार्चसम्म जम्मा ३ जना संक्रमित थिए ।

विश्व स्वास्थ्य संगठनअनुसार दक्षिण पूर्व एसियामा इन्डोनेसिया र मलेसियापछि फिलिपिन्समा सबैभन्दा बढी कोरोना संक्रमित थिए । फिलिफिन्समा कोरोनाकै कारण हालसम्म ३६२ जनाको मृत्यु भइसकेको छ र जम्मा ४३५ जनालाई निको भएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अन्य देशहरुको तुलनामा फिलिफिन्समा कोरोनाको परीक्षण पनि निकै कम भएको छ । ११ करोड जनसंख्या रहेको फिलिपिन्समा जम्मा ३८ हजार १ सय ३ जनाको परीक्षण भएको विश्वविद्यालयको तथ्यांक छ ।
फिलिपिन्समा लकडाउनको सबैभन्दा ठूलो विरोध १ अप्रिलमा भएको थियो । सेनकोर प्रान्तको क्विजोन शहरमा खाद्यान्न राहत मान्ने २१ जनालाई पक्राउ गरियो र उनीहरुलाई रिहा गर्न १५ हजार पीसो अर्थात् ३५ हजार ७ सय ९५ नेपाली रुपैयाँ धरौटी मागियो । जबकी सेनकोर प्रान्तका ८० प्रतिशत जनताको दैनिक कमाइ करिब ५ सय पीसो मात्र छ । सर्वसाधारणका लागि १५ हजार पिसो धरौटी तिर्नु असम्भव थियो ।

एमनेष्टी इन्टरनेशनल फिलिफिन्सले सरकारी ज्याजतीको अनुसन्धान हुनुपर्ने माग गरेको छ । फिलिपिनी जनता दुटर्टे प्रशासनको कडा कदम मन पराइरहेका छैनन् ।उनीहरुले कम आय हुने करिब १ करोड ८० जनताका लागि सरकारले के गर्छ भनेर पर्खिरहेका छन् ।

फिलिपिन्समा लोकतान्त्रिक गतिविधि र मानअधिकारको क्षेत्रमा काम गर्ने संगठन मलाया मुभमेन्टकी संयोजक एलिजा रोमेरोका अनुसार मानिसहरुलाई देख्नासाथ गोली हान्ने आदेशले गैरन्यायीक हत्यालाई बढावा दिन्छ, त्यसै त फिलिपिन्समा फर्डिनान्ड मार्कोसको पालादेखि नै तानाशाही सरकारको परम्परा छ ।

तीन दशक अगाडि सन् १९८६ को फेब्रुअरीमा लाखौ जनता मार्कोसको तानाशाही शैलीविरुद्ध आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनले मार्कोसको सत्ता ढलेको थियो ।

फिलिपिन्स ह्मुन राइट्स वाचका कार्लोस कोंडे भन्छन्, यदि दुटर्टेले काम गर्ने शैली परिवर्तन गरेनन् भने इतिहास आफैं दोहोरिन सक्छ । यसअघि पनि हामीले दुई जना राष्ट्रपतिलाई हटाएका छौं । यदि आवश्यक परेमा फेरि पनि त्यस्तै गर्न हिच्किचाउँदैनौं ।’

स्रोत : बीबीसी हिन्दी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार