विश्वकै बलियो अर्थतन्त्र भएको अमेरिकाले यतिबेला कोरोना महामारीको संकट मात्रै सामना गरिरहेको छैन, यही वर्ष चुनाव पनि गराउनु पर्नेछ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकाल सकिँदै गर्दा डेमोक्रेट्स पार्टीका तर्फबाट ट्रम्पसँग भिड्ने तयारीमा छन् जोए बिडेन । राष्ट्रपति पदमा जोए बिडेनको आकांक्षा त पहिलेदेखि नै हो । यस पदका लागि उनको चर्चा पनि नौलो भएन ।
रोचक के छ भने, पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाको नाम उपराष्ट्रपति पदका लागि चर्चा हुन थालेको छ । राष्ट्रपतिका प्रत्यासी जोए बिडेनले नै उपराष्ट्रपतिमा आफूले मिसेल ओबामालाई चयन गर्न चाहेको प्रतिक्रिया दिएपछि मिसेलको थप चर्चा भएको छ ।
पिट्सबर्गस्थित, पेन्सेल्भेनियामा केडीकेए टेलिभिजनका लागि बिडेनले हालै दिएको अन्तर्वार्तामा मिसेलले आफ्नो प्रस्ताव स्वीकार गर्नेमा आशंका व्यक्त गरेका थिए । ‘म उनलाई हृदयदेखि नै लिन चाहन्छु, उनी शानदार छिन्, उनलाई सबै कुरा जान्दछिन्, उनी साँच्चिकै राम्री महिला हुन्, ओबामाहरु असल साथी हुन्,’ बिडेनले भने ।
बिडेनले भने, ‘तर उनी फेरि ह्वाइट हाउस नजिकै बस्न चाहन्छिन् भन्ने मलाई लाग्दैन,’ बिडेनले बाराक ओबामाको दुई कार्यकालमा पनि उपराष्ट्रपतिको रुपमा सेवा गरिसकेका हुन् ।
यस्तैमा उनले मिसेललाई उपराष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा राख्न चाहेको प्रतिक्रिया दिएका हुन् ।
तर डेमोक्रेट्सकै अन्य कतिपय नेताहरुले बिडेनको यस्तो आकांक्षालाई गम्भीर रुपमा लिएका छैनन् । कतिपयले त उनीहरुको ‘जोडी’ हुनसक्ने भन्दै व्यंग्य पनि गरे । यस्तैमा बिडेनले महिलालाई उपराष्ट्रपति बनाउन चाहेर महिलाहरुको लोकप्रियता बटुल्न खोजेको पनि टिप्पणी भएको छ ।
जब कि, पूर्व फस्र्ट लेडी मिसेलले भने चुनावमा उम्मेदवार बन्नेबारे रुची नभएको पहिले नै बताएकी थिइन् । उनले २०१८ मा प्रकाशित आफ्नो पुस्तकमा पनि उल्लेख गरेकी छन्, ‘म प्रष्ट रुपमा भन्छु कि, कार्यालयका लागि दौडने मेरो कुनै अभिप्राय छैन,’
अमेरिकामा चुनावको मिति नजिकिँदै गर्दा कोरोना भाइरसको महामारीका कारण न त वर्तमान राष्ट्रपति ट्रम्पले न बिडेनले नै सार्वजनिक रुपमा चुनावी अभियान सुरु गर्न सकेका छन् । अमेरिकामा आम नागरिकलाई महामारीबाट बच्न घरमै बस्न आग्रह गरिएको छ । यस्तैमा राष्ट्रपति निर्वाचन पनि प्रभावित हुने आंकलन गरिएको छ ।