logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले मतदान गरे


  • एजेन्सी
  • बिहिबार, असोज २२ २०७७

FILE PHOTO: A combination picture shows U.S. President Donald Trump and Democratic presidential nominee Joe Biden speaking during the first 2020 presidential campaign debate, held on the campus of the Cleveland Clinic at Case Western Reserve University in Cleveland, Ohio, U.S., September 29, 2020. REUTERS/Brian Snyder/File Photo

अमेरिकी राष्ट्रपतिको चुनावको मिति आउन एक महिना बाँकी रहँदै हुलाक मार्फत् ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ३ तारिखमा मतदान हुँदैछ । अमेरिकी निर्वाचन परियोजनाका अनुसार सन् २०१६ को भन्दा यो संख्या ७५ हजारभन्दा बढी हो । कोरानाभाइरस महामारीको अवस्थामा हुलाकबाट मतदान गर्नु सुरक्षित ठान्ने ठूलो संख्याका मतदाताहरुले चुनावको मितिभन्दा अघि नै मतदान गरेका हुन् । अमेरिकाका कैयौं राज्यले यसपटक हुलाक मार्फत मतदान गर्न अनुमति दिएका थिए ।

फ्लोरिडा विश्वविद्यालयका माइकल म्याकडोनाल्डले अमेरिकामा चुनावको मिति अघि नै यति ठूलो संख्यामा मतदान भएको पहिलो पटक देखिएको बताए । उनले मतदान गर्नुअघि नै उम्मेदवारका बारेमा निर्णय गरिसक्ने र यसपटक पनि राष्ट्रपति ट्रम्प र विपक्षी जो बाइडेनका बारेमा निर्णय गरिसकेको बताए । उनले यसपटकको चुनावमा करिब १५ करोड अर्थात् करिब ६५ प्रतिशत अमेरिकीले मतदान गर्ने पूर्वानुमान गरे । सन् १९०८ यता यो सबैभन्दा ठूलो संख्या हुनेछ ।

अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन उम्मेदवार रहेका छन् । पछिल्लो जनमत सर्वेक्षणहरुले बाइडेनको पक्षमा केही झुकाव देखाए पनि दुबै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

अमेरिकी निर्वाचन आयोगकाअनुसार मतदान स्थलमा गएर मतदान गर्ने अमेरिकीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । बरु हुलाकमार्फत हुने मतदाताको संख्या निरन्तर बढ्दै गएको छ । सन् २००४ मा करिब २ करोड ५० लाख मतदाताले हुलाक मार्फत मतदान गरेकामा सन् २०१६ मा ५ करोड ७० लाखले यस्तो मतदानमा भाग लिएको आयोगको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाकमार्फत हुने मतदानबाट धाँधलीको सम्भावना बढी हुने आरोप लगाएका छन् । तर विज्ञहरुले ट्रम्पको आशंका विश्वासयोग्य नरहेको दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनमा निकै प्रभाव पार्ने फ्लोरिडा राज्यमा डेमोक्रेट समर्थक २४ लाख मतदाताले हुलाक मार्फत मतदान गर्न फारम भरेका छन् भने २ लाख ८२ हजारले मतपत्र पठाइसकेका छन् । रिपब्लीकनले भने १७ लाख मतपत्र अनुरोध गरेकामा १ लाख ४५ हजारले मतपत्र हुलाकमा बुझाइ सकेका छन् । –एपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार