logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतले गर्याे क्यानडाकाे भिसा निलम्बन


  • राजनीति
  • बिहिबार, असोज ४ २०८०

भारतले एक सिख पृथक्तावादीलाई क्यानडामा हत्या गरेको आरोपमा विवाद चर्किरहँदा क्यानडाका नागरिकका लागि भिसा सेवा निलम्बन गरेको छ

भिसा सेवा प्रदायक बीएलएसले भारतीय नियोगले पठाएको एक सूचना टाँस्दै उक्त निर्णयपछाडि “सञ्चालनसँग सम्बन्धित कारण” रहेको जनाएको छ। क्यानडाले हरदीप सिंह निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको बताएपछि यस साता दुई देशबीच तनाव चर्किएको छ । भारतले उक्त आरोपलाई “निरर्थक” को संज्ञा दिएको छ।

विश्लेषकहरूका भनाइमा महिनौँदेखि तनावपूर्ण रहेको दुई देशबीचको सम्बन्ध यतिखेर हालसम्मकै न्यून विन्दुमा छ। भिसा दिन रोक्ने सूचना सबैभन्दा पहिले बीएलएसको वेबसाइटमा बिहीवार प्रकाशित भएको थियो।

जसमा लेखिएको छ: “भारतीय नियोगको महत्त्वपूर्ण सूचना: सञ्चालनसँग सम्बन्धित कारणले गर्दा सन् २०२३ को २१ सेप्टेम्बरदेखि लागु हुने गरी अर्को सूचना लागु नभएसम्मका लागि भारतीय भिसा सेवा रोकिएको छ।”

भारतको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेकाे छ ।
भारतले आफ्ना नागरिकहरूलाई क्यानडा यात्रा गर्न वा त्यहाँ बसोबास गर्न “उच्चतम सजगता अपनाउन” एक जरुरी सूचना जारी गरेको एक दिनपछि यस्तो निर्णय आएको हो।

बुधवार दिल्लीले “क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र राजनीतिक रूपमा स्विकारिएको घृणा फैलाउने अपराध र फौजदारी हिंसा”को परिप्रेक्षमा त्यस्तो जरुरी सूचना जारी गरिएको जनाएको थियो।

दिल्लीले केही पछिल्ला खतरा आफ्ना कूटनीतिक र “भारत विरोध एजेन्डाको विरोध गर्ने” भारतीयहरूप्रति लक्षित रहेको जनाएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार आफ्ना गुप्तचर निकायहरूले क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा “भारत सरकारका एजेन्टहरू” संलग्न भए नभएको भनेर अनुसन्धान गरिरहेको जनाएका थिए।

भारतले सन् २०२० मा उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई “आधारहीन” मान्छन्। बिबिसीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार