राजनीति
भारत र क्यानडाबिच तनाव चर्किरहदा अमेरिकाले भारतलाई कुनै छुट नदिने बताएको छ । क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार अमेरिकाले भारतलाई कुनै ‘विशेष छुट’ नदिने बताएका हुन् ।
उनका अनुसार यस विषयमा अमेरिका सरकार भारतका उच्च अधिकारीसँग सम्पर्कमा छन्। हालै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसद्मा निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको आशङ्का व्यक्त गरेका थिए। त्यसपछि दुई देशबीच तनाव चुलिएको छ।
अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ। यस वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राजकीय भ्रमणमा गरेका थिए ।
समाचारसंस्था रोएटर्सका अनुसार ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यो हाम्रा लागि चिन्ताको विषय हो। यो हामीले गम्भीरतापूर्वक लिने कुरा हो। यो त्यस्तो विषय हो जसमा हामी कुनै पनि देशको परवाह नगरीकन काम गर्छौँ”
“यस्तो काममा विशेष छुट पाइँदैन। हामी कुनै पनि देशको परवाह नगरीकन अडिग भएर हाम्रा आधारभूत सिद्धान्तहरूको रक्षा गर्ने छौँ। हामी क्यानडाजस्ता सहयोगीहरूसँग पनि नजिक रही काम गर्ने छौँ किनभने क्यानडाले यस मामिलामा अनुसन्धान र कूटनीतिक प्रक्रियाको नेतृत्व गरिरहेको छ।”
यस विषयमा अमेरिका दुवै देशसँग सम्पर्कमा रहेको उनले बताए।अमेरिकी सञ्चारमाध्यममा प्रकाशित केही समाचारले अमेरिकाले यस विषयमा क्यानडासँग दूरी राखेको जनाइएको थियो।
त्यस्तो विवरणलाई खण्डन गर्दै सलिभनले भने, “अमेरिका र क्यानडाबीच कुनै मतभिन्नता छ भन्ने कुरालाई म खण्डन गर्न चाहन्छु। हामी क्यानडाले लगाएका आरोपहरूबारे चिन्तित छौँ अनि यो अनुसन्धान अगाडि बढेको र अपराधीहरूलाई उत्तरदायी बनाइएको हेर्न चाहन्छौँ।”
अमेरिकी थिङ्कट्याङ्क ‘द विल्सन सेन्टर’का दक्षिण एशिया इन्स्टिट्यूटका निर्देशक माइकल कुगलमनले अमेरिकी सुरक्षा सल्लाहकार सलिभनको भनाइ निकै महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारले स्पष्ट रूपमा भारतले यस मामिलामा उन्मुक्ति नपाउने जनाएका छन्।
“अमेरिकी अधिकारीले सार्वजनिक रूपमा विरलै यसरी कुरा गर्छन्।” बिबिसीबाट