राजनीति
काठमाडौं । पाकिस्तानी सेनाले गरेको भारी गोलाबारीबाट एक वरिष्ठ सरकारी अधिकारीसहित पाँच जना भारतीयको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाले शनिबार बिहान राजौरी, पुंछ र जम्मू जिल्लाहरूमा गरेको गोलाबारीमा परी राजौरीका अतिरिक्त जिल्ला विकास आयुक्त रहेका एक शीर्ष नोकरशाह राजकुमार थाप्पासहित पाँच जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
उनको मृत्युसँगै जम्मू कश्मीरमा पाकिस्तानी गोलाबारीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।
पाकिस्तानी सेनाले रातभर गरेको गोलाबारीबाट राजौरी, पुंछ र उरीमा धेरै आवासीय घरहरू र अन्य संरचनाहरू क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राजौरी शहरको औद्योगिक क्षेत्र नजिकै पाकिस्तानी गोलाबारीबाट थप दुई व्यक्ति दुई वर्षीया आइशा नूर र ३५ वर्षिय मोहम्मद शोहिब मारिएका छन् भने अन्य तीन जना घाइते भएका अधिकारहरुले जानकारी दिएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अधिकारीहरूका अनुसार, पुँछ जिल्लाको मेन्धर सेक्टरको काङ्घरा(गल्हुट्टा गाउँमा ५५ वर्षीया रशिदा बी नामकी एक महिलाको घरमा मोर्टारको गोली लागेर मृत्यु भएको छ।
जम्मू जिल्लाको आरएस पुरा सेक्टरमा अन्तर्राष्ट्रिय सीमामा सीमापार गोलीबारीमा बिदीपुर जट्टा गाउँका निवासी अशोक कुमार भनिने शोकीको मृत्यु भएको बताइएको छ ।
भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानी सेनाले ‘बुनयान–उल–मरसूस’ सुरु गरेपछि दुई देशबीचको तनाव झनै चुलिएको छ ।