राजनीति
काठमाडौं । कोलम्बियाली वायु सेनाको विमान पेरुको सीमा नजिकै देशको दक्षिणी भागमा दुर्घटना हुँदा ६६ जना सैनिकको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
सैन्य यातायात विमान लकहिड मार्टिन हर्कुलस सी– १३० पेरुको सीमा नजिकै रहेको पुतुमायो क्षेत्रको शहर प्योर्टो लेगुइजामो नजिकैको हवाई क्षेत्रबाट उडान भर्ने क्रममा दुर्घटना भएको थियो।
विमानमा १२८ जना सवार रहेको बताइएको छ, जसमध्ये ११ वायुसेना सदस्य, ११५ सेनाका कर्मचारी र दुई राष्ट्रिय प्रहरी अधिकारी थिए। ५७ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ, ४ जना बेपरत्ताको खोजी कार्य जारी रहेको र एक जनाको सकुशल उद्धार गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो अर्नुल्फो सान्चेजले लकहिड मार्टिन हर्कुलस सी– १३० विमान दुःखद् दुर्घटनामा परेको बताएका छन् । उनले दुर्घटनास्थलमा उद्धार टोली पठाइएको बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा धुवाँको कालो मुस्लो उडिरहेको र आगो लागेको देखिएको छ ।
रक्षा मन्त्री पेड्रोले यो घटना देशका लागि अत्यन्तै पीडादायी भएको भन्दै दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको जानकारी दिए ।