राजनीति
काठमाडौं । वासिङटन डीसीको एक होटलमा आयोजित ह्वाइट हाउस संवाददाताहरुको रात्रीभोज डिनरमा गोली चलेपछि हंगामा मच्चीभएको छ ।
शनिबार राती वासिङटन हिल्टन बलरुममा आयोजित कार्यक्रममा गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई तुरुन्तै त्यहाँबाट निकालेर सुरक्षित स्थानमा लगिएको बताइएको छ ।
सार्वजनिक एक भिडियोमा सहभागीहरु टेबुलमुनी हाम फालेको र कोठाभरी आतंक सिर्जना भएको देखिन्छ । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्प, प्रथम महिला र क्यालोरिन लेबिट सुरक्षित रहेको जानकारी दिएका छन् । ट्रम्पलाई सुरक्षाकर्मीले बाहिर निकाल्दै गर्दा राइफल बोकेका सुरक्षाकर्मीहरु मञ्चमा देखा परेका थिए ।
सोही कार्यक्रममा सहभागी भएका उपराष्ट्रपति जेडी भान्स र मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई पनि सुरक्षाकर्मीहरुले हतार–हतार बाहिर निकालेका थिए । प्रशासनका एक अधिकारीका अनुसार मन्त्रीपरिषद्का सबै सदस्य सकुशल रहेको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
घटना के कारणले भयो र गोली कसले चलायो भन्ने अझै स्पष्ट जानकारी आइनकसेको र सुरक्षा निकायले यसबारे अनुसन्धान सुरु गरेको जनाइएको छ ।