logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पर्दाभित्रको वधशाला !


  • बलराम तिमल्सिना
  • बिहिबार, बैशाख १९ २०७६

 

जव हल्का पर्दा उघ्रन्छ
हल्का मात्रै देखिन्छ- भित्रको दृश्य
जहाँबाट देखिन्छ- वधशाला
अर्थात सर्वोच्च सत्ता !

जहाँ,
सङ्गिनले रोपिन्छ- सत्यको छात्ती
जहाँ,
तरवारले रेटिन्छ- न्यायको घाँटी
जहाँ,
नून-खुर्सानी मोलेर फ्राइ गरिन्छ-
स्वतन्त्रता- समानता
जहाँ,
वधशालाको कुनामा बसेर
देशका साँप्रा र मान्छेको आँसु
धमाधम खाइरहेको हुन्छ कोही
जसको अनुहार-
हुबहु कार्यकारी प्रमुखसँग मिल्छ !

पर्दा पूरै खुल्यो भने
देखिने छन-
अनगिन्ति अज्ञात चिहानहरू
निर्धाका हाडखोरहरू
गाडधनहरू, मेशीनगनहरू
आजसम्म गुमनाम
हजारौं समाचारहरूको मुहान भेटिने छ
अनि भेटिने छ-
गरिवीको चुरो
असमानताको फेद
विभेदको पर्खालको जग
जहाँबाट देखिने छ-
हाम्रो रगत पसिनाको पोखरीमा
एक हुल बहुलिङ्गी मानिसहरू
अश्लिल खेल खेलिरहेका हुने छन
ती सवैको अनुहार
कार्यकारी प्रमुखका सन्तानसँग मिल्ने छ
र तिनीहरू
सिकिरहेका हुने छन-
हाम्रा छातीमा संगीन रोप्न
हाम्रा घाँटीमा तरवार रेट्न
र मान्छेको मासुको
छोइला कचिला बनाउँने तरिका
ती अर्थात भोलिका कार्यकारी प्रमुखहरू !

पर्दाभित्र चारै कुनामा हुने छन
देश देशका पाहुनाहरू
कोही दक्षिणका
कोही उत्तरका
कोही सुदूर पश्चिमी देशान्तरका
तिनीहरू मदारीको भूमिकामा हुने छन
र शासकहरू वाँदरको भूमिकामा
मदारीहरू आदेश गरिरहेका हुने छन
र शासकहरू सिकिरहेका हुनेछन-
शासकीय नाच
मान्छे नै मान्छे जोडेर
बनाइएको हुने छ मञ्च
र मान्छेको छात्ती हुनेछ नाच्ने स्थान !

पर्दाभित्रको अर्को लविमा
तपाईले देख्नु हुनेछ
यो देशका नामुद हत्याराहरू
ठगहरू तस्करहरू
प्रहरीले खोजि गरिरहेका भनिनेहरू
कसैको कानमा केही भनिरहेका हुने छन
र सुन्ने मान्छे
खिलखिलाएर हाँसिरहेको हुने छ
त्यो हाँस्ने मान्छेको अनुहार पनि
ठ्याक्कै कार्यकारी प्रमुखसँग मिल्ने छ !

तर ती सवै दृष्यहरू देख्न
पर्दा पूरै खुल्नु पर्ने छ
र त्यो पर्दा आजसम्म कैले खुलेको छैन !

पटक पटक भयो पर्दा खोल्ने प्रयत्न
आजभन्दा सत्तरी वर्षअघि पनि
पर्दा खोल्न खोजियो
तर अचानक लगाइयो
आजभन्दा तीस वर्षअघि पनि
फेरि खोल्न खोजियो
तर जवरजस्त लगाइयो
अनि अन्तिम पटक
बाह्र वर्षअघि फेरि कोशिस भयो
त्यो पटक पनि पर्दा खुलेन !

पछिल्लो पटक
पर्दाभित्रबाट निस्कियो
एउटा आदिम अनुहारको शासक
र केही आधुनिक अनुहारकाहरू भित्र पसे !

अहिले पनि पर्दाभित्र
अकण्टक चलिरहेछ
उही पुरानो वधशाला
भन्नेहरूले त्यसलाई
सत्ता भन्छन- सरकार भन्छन !

पर्दा अझै खुलेको छैन
र हत्तपत्त खुल्ने पनि छैन
पर्दा केही गरी खुल्यो भने
एउटा महाप्रलय नै हुने छ
त्यसपछि
कोही पुरानो ठाउँमा रहने छैनन ।

आज हामी जे देखिरहेछौं
भित्रकाहरूको
लापर्वाहीले बनेको प्वालबाट
सीमित कुरा देखिरहेछौं !

२०७६|०१|१८
सुवर्ण चोक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार