logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

श्रीमान ‘खलनायक’


  • बलाराम तिमिल्सिना
  • शनिबार, भाद्र २१ २०७६

उसले वर्षौं बोकेको झण्डा
खै के सोच्यो र फ्यात्त मिल्कायौ
शिरमा लगाएको तारा वाला टोपी
त्यो पनि झिक्यो र भुइँमा राख्यो
हिड्दाहिड्दैको बाटोसँग
गहिरो विरक्ती जन्मियो उसलाई
अन्तत: त्यो बाटो पनि बदल्यो ।

एउटा भारी अझै थियो उसको टाउकोमा
‘नायक’शब्दको भारी
जव बोझ थेग्न सकेन शब्दको
त्यसपछि
एउटा ‘ख’को खुट्टा हाल्यो
अर्को ‘ल’को खुट्टा हाल्यो
र ठमठम हिड्न थाल्यो
खल+नायक जिन्दगी !

यसरी
थाकेर थला परेपछि
नायकत्वको भारीले
ऊ खलनायकमा बदलिएको छ
र ठमठम हिडिरहेछ-
अँध्यारो दिशाको यात्रा !

मानिसहरू अचेल
श्रीमान खलनायक भन्दै नमस्ते गर्छन्
ऊ मुसुक्क हास्दै नमस्ते फर्काउँछ !

२०७६|०५|२१
भक्तपुर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार