logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वादशाहको भावुकता


  • बलाराम तिमिल्सिना
  • सोमबार, भाद्र २३ २०७६

वादशाहहरू क्रूर हुन्छन्
उनीहरू हिंस्रक हुन्छन्
उनीहरू निरङ्कुश हुन्छन्
रक्तपिपासु हुन्छन् जुकाजस्तै
नरभक्षी हुन्छन्
परपीडक, अत्याचारी र स्वेच्छाचारी हुन्छन्
पतित , अनैतिक र ऐयासी हुन्छन्
हामी सवैलाई थाहा छ
वादशाहहरू वर्वर हुन्छन् !

हामीलाई कम थाहा भएको कुरा पनि छ
त्यो हो –
वादशाहहरू असाध्यै कायर हुन्छन्
दुखको भय
पराजयको भय
सत्तापलटको भय
र हत्याको भय
यी भयहरूको घेरामा
वादशाहहरू हरदम तनावमा हुन्छन् !

जब जब तनाव बढ्छ
तव तव वादशाहहरू भावुक हुन्छन्
उनीहरू कवि गीतकार पनि बन्न थाल्छन्
जब जब उनीहरू भावुक बन्न थाल्छन्
क्रुरता अनायास अन्तरध्यान हुन्छ
हामी केवल भावुक वादशाह मात्र देख्छौं !

भावुक भएको वेला
उनीहरू देशको गीत लेख्छन्
नदीको , झरनाको र तालहरूको गीत लेख्छन्
वादलको, बतासको र बनको गीत लेख्छन्
यस्तो लाग्छ-
सवैभन्दा बढी देशभक्त उनीहरू नै छन् !

वादशाहको उद्दण्डताभन्दा
उनीहरूको भावुकता
निकै अस्वस्थ हुन्छ

अक्सर
मृत्युपछि पनि शासन गर्ने भनेको
भावुक वादशाहहरूले हो !

भावुकता
वादशाहको यस्तो हतियार हो
हतियारले जित्न नसकेको युध्द
उनीहरू यही हतियारले जित्छन् !

उसको भावुकतामा लठ्ठिएर
असली प्रेमी संझेर
मानिसहरू अँगालोमा बेह्रिन पुग्छन्
अँगालोबाट खुस्कदा
ती वाहियात रैति बनेर निस्कन्छन् !

वादशाहको भावुकता
स्वेच्छाचार छोप्ने गजवको पर्दा हो
भावुक अवतारका वादशाहहरू
ज्यादै खतरनाक हुन्छन् !

२०७६|०५|२२
भक्तपुर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार