एउटालाई साथी बनाउन खोजें
अहँ पटक्कै साथी बनेन
बिस्तारै ऊ मेरो पिछलग्गु बन्यो !
फेरि अर्कोलाई साथी बनाउँन खोजें
ऊ पनि साथी बन्दै बनेन
बिस्तारै ऊ मालिक बन्यो !
एउटा पिछलग्गु बन्यो
अर्को मालिक बन्यो
मैले जतिलाई साथी बनाउँन खोजें
ती कोही पनि साथी बनेनन् !
त्यसपछि
म कसैको साथी बन्न खोजें
म पनि बन्न सकिन साथी
बरु बिस्तारै म पनि पिछलग्गु नै बनें !
फेरि अर्कोसँग साथी बन्न खोजें
यो पटक पनि साथी बन्न सकिन
यो पटक म आफैं मालिक बनें !
एक पटक पिछलग्गु बनें
अर्को पटक मालिक बनें
म ज-जस्को साथी बन्न खोजें
म ती कसैको साथी बन्न सकिन !
मेरा कोही साथी छैनन्
म पनि कसैको साथी छैन
मेरा कि त पिछलग्गु छन् कि मालिक छन्
म कसैको मालिक छु या पिछल्गु छु !
कृपया मलाई सत्य कुरा भन्नुस
के तपाईका साथीहरू छन् ?
छन् भने के ती साथीजस्तै छन् ?
२०७६|१२|२७
भक्तपुर