विश्वव्यापी युध्द छ
तर विश्वयुध्द हो/ विश्वयुध्द होइन !
विश्वव्यापी युध्द छ
तर वमहरू पड्किरहेका छैनन्
फाइटरहरू उडिरहेका छैनन्
र ढलिरहेका छैनन् मानिसहरू
खेतहरूमा, गल्लीहरूमा या जङ्गलहरूमा !
विश्वव्यापी युध्द छ
र युध्दको चपेटामा छ
महाशक्ति देश समेत
तर उसको दिमागमा छैन अणु वम
उसको दिमागमा छ-
भेन्टिलेटर र ………!
विश्वव्यापी युध्द छ
तर सैनिकहरू छैनन् मैदानमा
छन त ती छन्
तर पृष्ठभागमा छन् ती
लास उठाउँने भूमिकामा
रिजर्व फोर्समा !
पिपिई उनीहरूको युनिफर्म हो
टेस्ट किट बन्दुक
भेण्टिलेटर लडाकु जहाज
र औषधिहरू बारुध !
यो युध्दको मैदानमा छन् नर्शहरू
नारीबाट बनेका नर्शहरू छन्
युध्दको फस्ट एसल्टको भूमिकामा
र दोश्रो पंक्तिमा छन् डाक्टरहरू
उनीहरू लडिरहेछन् युध्द
नर्शहरूको अगुवाईमा !
संभवत:यो
नारीहरूको अगुवाईमा लडिएको
प्रथम विश्वव्याषी युध्द हो
र परिक्षणमा छन् आइमाई-योध्दाहरू !
यस अघि युध्द/विश्वयुध्द हुन्थ्यो
सबैभन्दा लुटिनेमा पर्थे जो
सबैभन्दा लुक्नेमा पर्थे जो
आज तिनै युध्दको नेतृत्वमा छन् !
मानवताका
सबैभन्दा असल प्रेमी कोही छन् भने
आज तिनै नर्शहरू छन् !
यो प्रेमको लडाइँमा
यो जीवनको लडाइँमा
मृत्युसँगको आम्नेसाम्नेको यो लडाइँमा
कति पटक उनीहरूले जितेका छन
र कोरोनाले हारेको छ
कति पटक कोरोनाले जितेको छ
र अस्पतालको बेडमै निदाएका छन्
ती महान प्रेमिकाहरू !
बुहानमा या सोलमा
इटलीमा या इरानमा
स्पेनमा या फ्रान्समा
जर्मनीमा या अमेरिकामा
जहाँ लडिरहेका भए पनि ती
मान्छे मात्रका प्रेमका प्रतिक हुन् !
जब ती गैरहेका हुन्छन् युध्द मैदानतिर
यस्तो भन्न मन लाग्छ-
“युध्द जितेर झट्टै फर्क मायालु
हामीले वास्तविक प्रेम त गर्नै वाँकि छ !”
अचेल सपना भरि भरि आउँछन्
थाकेको शरीर भए पनि
मुस्कुराउँदै भन्छन् –
“डियर मान्छे !
स्वस्थ रहनुस ,घरमै रहनुस
यो पटकको युध्दको नेतृत्व हामी गर्छौं
र बिजयी बनेर फर्कन्छौं !”
म सपनामै चिच्याउँछु-
“आई लभ यु भेरी मच !”
तपाईको अमूल्य सुझावको हार्दिक आशा सहित )
२०७६|१२|२९
भक्तपुर