लगाएर खुट्टामा
उल्टा सुल्टा चप्पल
ती पनि फरक फरक नम्बरका
फरक फरक ब्राण्डका
फरक फरक रङ्गका
र आधाआधी फाटेका ,
कोही सहरबाट गाउँतिर हिडिरहेको छ
भन्नु होस ऊ को हो ?
एउटा पागल –
दिमाग खल्बलिएको
एउटा उग्रवादी-
सरकारलाई गिज्याइरहेको
या एउटा गँबार-
सहरलाई सरापिरहेको
भन्नोस , को हो त्यो ?
काँधमा बोकेर जेब्रा झोला
मूल बाटो छोडेर खेतै खेत
प्रहरीका आँखा छल्दै-
ढाड जोगाउँदै
पानी पिउँदै –
तिर्खा र भोक दुवै मेट्दै
आँखाभरि बोकेर गाउँको अनुहार
रात साँझ हुल बाँधेर हिड्ने-
को हुन ती ?
संभावित विद्रोहका छापामारहरू,
भोका बिद्रोहीहरू,
या अराष्ट्रिय तत्वहरू ?
सरकारकारको आदेशलाई
खुलेआम लगौंटी लगाएर
लकडाउनलाई माझी औंला देखाएर
दुरी पालनालाई दुत्कार्दै
हुलका हुल सल्वलाइरहेका को हुन ?
कानून नमान्ने
आदेश नमान्ने
शक्तिसाली सरकार नमान्ने
बन्दुक बोकेको प्रहरीलाई नगन्ने
सहरलाई नमान्ने
आफ्नो निर्णय आफैं गर्ने
र आफ्नो उद्देश्यमा हिडिरहने
को हुन ती ?
नेपालभित्रको अर्को नेपालका नागरिक ?
सिजिन पिन भन्दा सुरा
डोनाल्ड ट्रम्पभन्दा निडर
नरेन्द्र मोदी भन्दा मापाका
ओलीजीभन्दा ओखरपाङ्ग्रे
संसारलाई थर्कमान पारेको
कोरोनाभन्दा कोग्ल्याँटा
भोकले लखेटिएका
भोकसँग भाग्दै गरेका
भोकले तानीरहेका
र भोकले नै घँचेटिरहेका
सरकारलाई सबैभन्दा मन नपर्ने
ती ख्याउटे अनुहारका
घामले डढेकाहरू को हुन ?
कुनै पार्टीले नखोजेका
कुनै ट्रेड युनियनले नचिनेका
कुनै धार्मिक संस्थाले नसमेटेका
कुनै आइ.एन. जि.ओ.ले नदेखेका
देशभित्र देश हराएका
सहरभित्र सहर हराएका
कोरोनासँग पनि नडराएका
उल्टा सुल्टा चप्पल लगाएर
अज्ञात दिशातिर हिडिरहेकाहरू
ती कुन ग्रहका प्राणी हुन ?
२०७७/०१/०३
भक्तपुर