“ए बा नमस्कार
ए आमा नमस्कार
दाजु भाइ दिदी बैनी सवैलाइ नमस्कार
हजुरहरू एता है एता
त्यता लोकल ठर्रा मात्रै छ
एता सिल प्याक छ
त्यता बोइलर मात्रै छ
एता खसीकै मासु छ
त्यता मोटा चामलको भात छ
एता बासमती चामलको भात छ
ए हजुर एता है एता
हजुर त उहिलैदेखि हाम्रो मान्छे
ल है हजुर एता एता एता !”
“ए हजुर !
छोरालाई जागिर चाहियो कि
छोरीलाई छात्रवृत्ति चाहियो कि
घरमा चामल सकियो कि
नून सकियो कि तेल सकियो कि
बाटो चाहियो भने भन्नुस
स्काभेटर हाजिर छ
स्कूलको कोठा थप्नु परो कि
बिजुलीको पोल गाड्नु परो कि
के चाहियो हामीलाई भन्नुस
हामी छौं अरुलाई नभन्नुस !”
“यी..यो आमालाई बानारसी सारी
यो बालाई अस्कोट
छोरालाई सर्ट पाइन्ट
छोरीलाई टि-शर्ट र मेकअपका सामान
ल आउनोस आउनोस
आफ्नो भाग झ्याप्प समाउनोस
सँधै कति दुख गर्नु हुन्छ
कैले कैले त दसैं मनाउनोस
ल आउनोस आउनोस
ल फटाफटी आउनोस !”
सामानको तानातान हुँदाहुदै
कसैले टाउकोमै लाठी हान्यो
“यो तेरो बाउको ओछ्यान हो ?”
कोही हकार्दै थियो
आँखा मिच्दै उठ्यो बटुवा
अहँ त्यहाँ त
आउनोस आउनोस भन्ने कोही थिएन
बरु एक हुल पुलिसहरू थिए
घुरेर हेरिरहेका
र भन्दै थिए –
“तँलाई लकडाउन छ भन्ने
थाहा छैन साले ?”
भर्खर अघिसम्म
सबै कुरा छेलोखेलो थियो
राख्न थनक्याउन भ्याइनभ्याइ थियो
अहिले निधारमा एउटा टुटुल्को छ
र सोझिदै गरेको लाठी छ
बिचरा बटुवाले देखेको त्यो
चुनावको समयको सपना थियो
र यो उसले भोगेको विपना थियो !
२०७७|०१|०५
भक्तपुर