डियर सरकार ,
यी केही थान सुझावहरू छन्
कृपया झर्को नमानी सुनिदिनु होला !
तपाईका प्रहरीले
एयरपोर्टबाट सुन छिरेको देख्दैनन्
यो सरकारलाई उहिलै अवगत छ नि ?
तपाईका सिडियोहरू
जो सरकारका गोजीका जोकर हुन
ती पनि केही देख्दैनन् !
सरकारले जे जे हेर भनेको छ
ती त्यही त्यही हेर्छन्
सरकारले जे जे देखें भन्नु भनेको छ
ती त्यही त्यही देखें भन्छन्
सरकारले देखें नभन्नु भनेको कुरा
ती मरिकाट्टे पनि देख्दैनन्
देखे पनि देखें भन्दैनन् !
सरकारबाट सोधनी भएछ –
हाम्रा प्रहरीले नदेख्ने
हाम्रा सिडियोले नदेख्ने
पत्रकारले नै कसरी देखे ?
अनि काठमाण्डौबाटै
कसरी पुगे ती क्यामेरा बोकेर ?
डियर सरकार !
हजुरका प्रहरी र सिडियोले देखे भने
ती बिचरा पैदल यात्रुलाई
ठाउँको ठाउँ थला पार्छन्
त्यसैले ती बिचराहरू
छापामारको भेषमा हिड्छन्
छामामारको नामै सुनेर
सरकारको प्रहरीले
बर्दी नै फोहोर पार्छ भन्ने कुरा
सरकारलाई थाहा छ नि है सरकार ?
सरकार !
मैले पहिले नै भने नि
हजुरले जसलाई खटाउँनु भएको छ
अह्राएको हेर्न र हेरेको देख्न
नअह्राएको कुरा देखे पनि देखें नभन्न
बिचराहरू सरकारबाटै अभिसप्त छन् !
नअह्राएको पनि हेर्ने
र देखेको कुरा देखें भन्ने हो भने
तिनीहरू लाजले रातो पीरो हुने थिए
तिनले हरेक साँझ-बिहान
सरकारको उम्केको लाज देख्ने थिए !
तिनीहरू देखिरहेछन् सरकारको लाज
तर कैलै देखें भन्दैनन्
त्यसैले तिनीहरू
आँखा चिम्लन्छन्
मुन्टो बटार्छन्
तर कैलै कुरी कुरी भन्दैनन् !
डियर सरकार
हजुर पनि त धृतराष्ट्र नै हो
हजुर पनि केही देख्नु हुन्न
अनि हजुरका आठपहरियाहरू पनि
गान्धारी व्रतमा छन्
उनीहरूले नदेखेकोमा
रिसानी माफ होस सरकार !
२०७७|०१|०८
भक्तपुर