राजनीति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा पत्रकारहरुमाथि भएको दुर्व्यवहार र कुटपिट निन्दनीय भएको बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले समाचार संकलनका क्रममा पत्रकार अंगराज परियार र प्रज्वल चुनारालाई प्रहरी सहायक निरिक्षक (असई) एन.वी राना नेतृत्वको प्रहरी टोलीले गरेको कुटपिट र दुर्व्यवहारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
वैशाख २५ गते बिहीबार सुर्खेतस्थित उच्च अदालतको गेटमा दिइएको धर्नाको समाचार संकलन गर्ने क्रममा जनचासो दैनिकका परियार र खुलानजर डटकमका चुनाराको क्यामरामा खिँचिएको भिडियो र फोटा रानाको नेतृत्वमा रहेको प्रहरी टोलीले मेटाएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
“स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि कुनै पनि वहानामा यस प्रकारको हस्तक्षेप हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई हतोत्साहित पार्ने यस्ता हर्कतमा संलग्न प्रहरीमाथि विभागीय कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न प्रहरी प्रशासनसँग माग गर्दछ,” महासंघका महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।