राजनीति
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/०८१ को वर्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले केन्द्रको २२ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् । वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सुशासन र विकास आफूहरुको अभिभारा भएकाले यसका लागि राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो भूमिकालाई थप प्रभावकारी र सक्रिय बनाउनुपर्ने बताए ।
प्रतिवेदनमा सोह्रौं योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन छड्के जाँच आदी गर्दै आएको छ । अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्छ । सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सो केन्द्र स्थापना भएको थियो ।