राजनीति
काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति एवं पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ ।
खड्काको ८२ वर्षको उमेरमा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. ७ स्थित आफ्नै निवासमा आज बिहान करिब ६ बजे निधन भएको हो । खड्का विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।
वि.सं.१९९९ श्रावण १९ गते जन्मिएका स्वर्गीय खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला सभापति थिए । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा उनले पटक–पटक जेल जीवन, प्रहरी हिरासत र यातना समेत व्यहोरेका थिए।
वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा र २०६४ मा संविधान सभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट उनी निर्वाचित भएका थिए ।
खड्काको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
“नेपाली कांग्रेस दैलेखका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गणेशबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय खड्काले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु,” सभापति देउवाद्धारा जारी गरिएको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।