राजनीति
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलबारे अनुसन्धान गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसहित सैनिक अधिकारीहरूको बयान लिएको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोमबार आयोगले प्रधान सेनापति सिग्देलसहित केही अधिकारीहरूको बयान लिएको हो।
सिग्देलसहित सैनिक अधिकारीहरूको बयान सकिएको र हाल तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, हालका आइजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको बयान लिने क्रम जारी रहेको बताइएको छ।
अब अर्को साता तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी भइरहेको शर्माले जानकारी दिए।
उनले भने, “यो साता अहिले जारी रहेकाहरूको बयान सकिन्छ । लेखकको बयान अर्को साता हुन्छ।”