राजनीति
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा मसालसँग दुई बुँदे समझदारी गरेका छन् ।
सातै प्रदेशमा सत्ता सहकार्यको सहमति गरी भागबण्डासमेत टुंग्याएका दुई पार्टीले लुम्बिनीको हकमा मसाललाई पनि सत्ता साझेदार बनाउन लागेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मसालका महामन्त्री मोहनविक्रम सिंहबीचको सहमतिको पहिलो बुँदामा लुम्बिनी सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।
ओली र प्रचण्डबीच अस्तिनै उक्त प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएअनुसार अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउने सम्भावना छ । तर, दुई दलको मात्रै बहुमत पुग्ने अंकगणित छैन ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्, जुन बहुमत (४४) का लागि तीन सिट कम हो । यहाँ जनमोर्चाका एक सांसद छन् । मसालको समर्थनले पनि ‘भ्यागुत्ताको धार्नी’ पुग्ने भने देखिंदैन ।