logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सावधान ! जिस्काएपछि १० लाख तिर्नुपर्ला


  • पत्रपत्रिका
  • सोमबार, पुष २१ २०७६

सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ।

मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने भन्छ। विधेयकअनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १० लाख रुपैयाँसम्म जरिवानाको भागिदार बन्नुपर्ने अवस्था छ।

संहिताको दफा २२० ले सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीच करणी भए चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना भन्छ। विधेयकको दफा ८३ अन्तर्गत ‘साइबर बुलिङ गर्न नहुने’ खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने कार्य गरे कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।

विधेयकको जरिवाना अंकमा तादात्म्य देखिँदैन भने सामान्य कसुरमा पनि चर्को जेल सजाय तोकिएको छ। संहिताले कसैलाई यौन दुव्र्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँँसम्म जरिवाना हुने भनेको छ। दफा २२४ मा यस्तो व्यवस्था छ।

कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आसयले समाते वा निजको संवेदनशील अंग छोए वा छुन प्रयास गरे, निजको भित्री पोसाक खोले वा खोल्ने प्रयास गरे, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरे वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगे, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाए, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरे, अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए वा हैरानी दिए वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरे निजले यौन दुव्र्यवहार गरेको मानिने भनिएको छ। अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए, हैरानी दिए, निजसँग अस्वाभाविक र अमर्यादित व्यवहार गरे पनि संहिताले यौन दुव्र्यवहार भनेको छ। संहितामा यी अपराध प्रत्यक्ष क्रियाकलापमा आधारित हुन्।

विधेयकको दफा ८७ ले कसैले विद्युतीय प्रणालीका माध्यमबाट मात्रै पनि यौनशोषणको मनसाय राखे, त्यस्तो मनसायसहित प्रस्ताव राखे वा भेट्न खोजे वा प्रलोभन देखाएर उक्साए कठोर दण्डसजायको व्यवस्था गरेको छ। विधेयकले यस्तो कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुने भनेको छ। वैयक्तिक विवरण संकलन गर्न नहुने, गोपनीयता भंग गर्न नहुने, कसैको अनुमतिबिना कसैको सूचना, फोटो र नक्सा लिन नहुनेजस्ता प्रावधानसहित कडा दण्डसजायको व्यवस्थासमेत विधेयकमा छ।

फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले विधेयकका व्यवस्था र संहिताका व्यवस्थामा तादात्य नदेखिएको बताए। ‘विधेयकका व्यवस्थामा एकरूपता देखिँदैन’, मैनालीले अन्नपूर्णसँग भने, ‘मनसाय मात्र राखेको कसुर र प्रत्यक्ष गरेको कसुरको दण्डसजाय फरक हुनुपर्छ। यहाँ त मनसाय मात्र राखेको कसुरमा बढी र प्रत्यक्ष घटनामा संलग्न रहेको कुरामा कम सजायको अवस्था देखियो। कानुनमा समानता देखिनुपर्छ। पूर्वाग्रही देखियो।’ दुई कानुनबीच तादात्म्यका लागि पुनर्विचार हुने आशा उनले व्यक्त गरे । अन्नपूर्ण दैनिक मा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार