logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओली र रावलबीच चर्काचर्की भएपछि ओलीले गरे बैठक नै स्थगित


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

काठमाडौं-बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक नै स्थगित भएको छ ।

रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने आइतबार स्थायी कमिटी बैठकमा माग गरेका थिय ।

स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्य घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटालगायतका नेताले साथ दिँदै नेतृत्वले आत्मालोचना गर्नेपर्ने अडान लिए ।

तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भन्दै कडा जवाफ दिएपछि बैठकमा झन्झन् चर्काचर्की बढेको हो । बैठकमा सहभागी एक नेताका अनुसार रावलसहितका नेताले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो ।

प्रधानमन्त्री ओलीले आफूबाट कुनै गल्ती नभएको भन्दै आत्मालोचना नगर्ने अडान राखेका छन् ।सम्मेलनमा आफू सहभागी भएर उद्घाटन मात्रै गरेको बताउँदै उनले अरू विषय त वरिष्ठ नेता माधवकुमार नेपालले मिलाएको उनले बताए ।

ओली र रावलसहितका नेताबीच बाझाबाझ भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालले साम्य पार्ने काम बैठकमा गरेका छन् ।

बैठक आइतबारै पुनः साझ ४ बजे बस्ने सहमतिसहित स्थगित भएको थियो । तर, ४ बजे बोलाइएको बैठकमा अध्यक्ष ओली ५ बजेसम्म नपुगेपछि बैठक स्थगित भयो । बैठक आगामी ११ पुसमा बस्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार