राजनीति
ओली सरकारले गठन गरेको अधिकारसम्पन्न उच्चस्तरीय राजनीतिक वार्ता टोलीले नेपाल कम्युनिस्ट पार्टी विप्लव आफूहरुसँग वार्ता गर्न नमानेको उल्लेख गरेको छ ।
समितिको म्याद सकिएको भोलिपल्ट प्रगति विवरण सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा वार्ताटोलीले विप्लव समूहले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको बताएको हो । ‘नेपाल कम्युनिस्ट पार्टी यस वार्ता टोलीको तर्फबाट संयोजक र सदस्यहरुले अनौपचारिक रुपमा केन्द्रीय स्तरका नेताहरुसँग धेरै पटक संवाद गरेता पनि उक्त पार्टीले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको हुँदा सो समूहसँग वार्ता प्रक्रिया अघि बढ्न सकेन’ संयोजक पाण्डेले भने ।
तराईमा संघर्षरत सीके राउत समूहसँग वार्ता गर्ने जिम्मेवारी आफ्नो कार्यादेशमा नै नपर्ने हुनाले वार्ता नगरेको वार्ता टोलीले जनाएको छ । ‘नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्धका गतिविधि गर्ने सीके राउत समूहसँगको वार्ता यस टोलीको कार्यादेशभित्र नपर्ने हुँदा त्यस समूहसँग वार्ता गर्न उपयुक्त देखिएन’ संयोजक पाण्डेले भनेका छन् ।
सरकारले भदौ ८ गते विभिन्न द्वन्द्वरत समूहसँग वार्ता गर्न भनी नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न उच्च स्तरीय राजनीतिक वार्ता टोली २०७५ गठन गरेको थियो । वार्ता टोलीले २३ वटा विभिन्न समूहसँग वार्ता गरेको थियो । जसमा ३ वटा समूहले हतियार स्थानीय प्रशासनलाई बुझाएर मूलधारको राजनीतिमा सामेल भएको, ३ वटा समूहले विगतमै अतियार बुझाएको र वार्ता टोलीको रोहवरमा राजनीतिक प्रक्रियामा सहभागी भएको घोषणा गरेका थिए ।