राजनीति
पछिल्लो समय नेपाल मा राजनीति लाई जनताकाे सेवा गर्ने थलाे भन्दापनि नाफीमुखी ब्यापाीक केन्द्र काे रुपमा लिइएकाे पाइन्छ।भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहदामा पुग्न मरिहत्ते गर्ने सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । यो होडबाजीमा प्राय सबै पार्टी का धेरै नेता कार्यकर्ता सामेल भए पनि काँग्रेसका चारजना नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचारी ठहर नै भइसकेका छन् । त्यही कारण उनीहरूको राजनीतिक जीवन नै समाप्त भएको उदाहरण पनि छ। भने सुडान घोटला काण्ड, लाउडा, चेज र धमिजालगायतका काण्डहरू नेपालका चर्चित भ्रष्टाचार काण्ड भनेर चिनिएका छन् । त्यही कारण उनीहरूको राजनीतिक जीवन नै समाप्त भएको उदाहरण पनि छ ।
१. खुमबहादुर खड्का
तत्कालीन काँग्रेस नेता खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले ३० साउन ०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गर्ने फैसला सुनायो ।
पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै सर्वोच्चका तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई दोषी ठहर गरेको थियो ।
२. जयप्रकाशप्रसाद गुप्ता
९ फागुन ०६८ मा सर्वोच्च अदालतले सञ्चारमन्त्री रहेका बेला गुप्तालाई अकुत सम्पत्ति कमाएको ठहरसहित सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय तर्कराज भट्ट र सुशीला कार्कीको संयुक्त इजलासले डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
३. चिरञ्जीवी वाग्ले
२०६७ सालमा सर्वोच्च अदालतले अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेको थियो । उनले दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनायो। सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले दुई करोड तीन लाख रुपैयाँ जरिवाना फैसला सुनायाे।
४. गोविन्दराज जोशी
जोशी २०६९ साउन साउन १० गते विशेष अदालतले पूर्वमन्त्री तथा काँग्रेस नेता जोशीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल सजाय सुनायो । तत्कालीन विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले जोशीलाई २ करोड १६ लाख १४ हजार रुपैयाँ बिगो र बिगोबराबरको जरिवाना सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू. ३ करोड ९३ लाख ६२ हजार बराबरको सम्पत्ति गैरकानुनी आर्जन गरेको भनी जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियाे।
तीन पटक गृहमन्त्री भइसकेका जोशी पहिलो पटक २०४८ साल वैशाखमा तनहुँ क्षेत्र नं. २ बाट सांसद बनेका थिए । त्यसपछिका वर्षहरूमा उनी दुई पटक तनहुँ क्षेत्र नं. १ बाट संसद्मा चुनिएका थिए । शिक्षा, समाज कल्याण, जलस्रोत र स्थानीय विकास मन्त्रालयसमेत सम्हालिसकेका जोशी २०२४ सालदेखि २०३४ सालसम्म शिक्षण पेशामा थिए ।
हाल नेता खुमबहादुर खड्का दिवङगत भइसकेका छन भने अरु सक्रिय राजनीति भन्दा बाहिर छन।
चर्चित भ्रष्टाचार काण्डहरू
१. लाउडा काण्ड
२०५७ सालमा तत्कालीन शाही नेपाल वायु सेवा निगमसँग आफ्नै दुईवटा जहाज रहेका थिए । त्यहिबेला चाइना साउथवेस्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भयो । जुन लाउडा काण्डका नामबाट चर्चित छ । यो काण्ड चर्किएर संसदको तत्कालीन अधिवेशन पूरै अवरुद्धसमेत भएको थियो । चर्चित लाउडा प्रकरणले नेपाल वायुसेवा निगमलाई दुई अर्ब रुपैयाँको नोक्सान गरेको निष्कर्ष निकालिएको थियो । यो काण्डमा काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुछिएका थिए ।
२. धमिजा काण्ड
२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वायुसेवा निगमको कामकारवाहीमा हस्तक्षेप गरे । निगमले विमान किन्ने तयारी गरेको थियो । यसमा गिरिजाप्रसाद कोइरालाले भारतीय मूलका तर बेलायती व्यापारी दिनेश धमिजालाई आफ्नो व्यक्तिगत मनोमानीको आधारमा निगमको युरोपका लागि मुख्य एजेन्ट बनाए । जुन ‘धमिजा काण्ड’को नामले चर्चित छ । यो प्रकरणमा नेपाली वायुसेवा निगमले ३९ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
३. चेज एयर काण्ड
यो काण्ड पनि वायुसेवा निगमसँगै सम्बन्धित छ । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा नेकपा (माले) का यामलाल कँडेल पर्यटनमन्त्री थिए । उनै यमलाल कँडेलले आफ्नो पार्टीका महासचिव बामदेव गौतम निकट हङकङ रानामगरलाई नेपाल वायुसेवा निगम अध्यक्ष बनाए । त्यसपछि जहाज र कार्यालयसमेत नभएको ‘चेज एअर’ नामको कम्पनीबाट बोइङ–७५७ भाडामा ल्याउने सम्झौता गरियो ।
नाम मात्रको सो कम्पनीका सिसिल विन्टर्ससँग सम्झौता गरिएको त्यो प्रकरणबाट निगमले ९ लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी व्यहोर्नु परेको थियो ।
४. चाइना साउथवेस्ट काण्ड
२०५५ सालमा काँग्रेस–एमालेको संयुक्त सरकारले बी.के. मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेन्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग सम्झौता गरियो । एमाले नेता भीम रावल पर्यटनमन्त्री हँुदाको यो प्रकरणमा वायुुसेवा निगमले २२ करोड रुपैयाँको नोक्सानी व्यहोरेको थियो । नेपाली राजनीतिमा यो काण्ड निकै चर्चित रह्यो ।
५. एयरबस काण्ड
२०६६ सालमा नेपाल वायुसेवा निगमलाई डुबाउने ठूलो प्रयास भयो । एउटा न्यारोबडी र अर्काे वाइडबडी एयरबस विमान खरिदका लागि कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै बैना पठाउनुलाई भ्रष्टाचार भन्दै निगमका तत्कालीन कार्यकारी अध्यक्ष कंसाकार, नायव महाप्रबन्धकद्वय राजकुमार केसी र गणेश ठाकुर विरुद्ध अदालतमा मुद्दा पर्यो ।
मुद्दा प्रक्रियामा रहँदै एयरबसले २८ माघ २०६७ मा बैनाफिर्ता गरेको कारण थुनामा रहेका अभियुक्तहरूले सफाइ पाएको यो काण्डमा माओवादी पार्टीका शीर्ष नेताहरूकै संलग्नतामा रहेको चर्चा पनि चलेको थियो ।