राजनीति
तनहुँ -पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले रोक्न भनिए पनि अटेर गर्दै मंगलबार विशेष जिल्ला अधिवेशन गरिएको छ। दमौलीमै आएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा।शशांक कोइरालाले जोशी पक्षले गर्ने भनिएको विशेष अधिवशेन रोक्न आग्रह समेत गरेका थिए। नेपाली कांग्रेस तनहुँद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवा, महामन्त्री कोइरालाले जोशी पक्षलाई झगडा नगर्न तथा विधि र विधानअनुरुप पार्टी कार्यालयमा नै बसेर छलफल र वार्ता गर्न आग्रह गरेका थिए। जोशी पक्षद्वारा अटेर गर्दै दमौलीमा विशेष अधिवेशन गरिएकोले केन्द्रीय स्तरका कुनै पनि नेता उपस्थित भएका थिएनन्।
विशेष अधिवेशनको उद्घाटन गर्दै जोशीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दमौलीमा सञ्चालित दुई वटा आश्रम मध्ये एक आश्रममा बसी कार्यकर्ताको पथ प्रदर्शक गर्न सुझाएका छन्। पौडेलले पदमा बसेर पनि जिल्लाको विकास निर्माणको काम गर्न नसकेको र कार्यकर्ताको संरक्षण गर्न नसकेकोले काँग्रेस तनहुँ कमजोर भएको आरोप लगाउँदै जोशीले नेता पौडेललाई राजनीतिक विश्राम लिएर आश्रममा बस्नुपर्ने बताए।