काठमाडौ । संसदीय सुनुवाइ विशेष समितिको बैठकले सरकारद्वारा संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि सरकारद्वारा नाम सिफारिस गरिएका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ।
सोमबार बसेको बैठकले राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राईको नाम संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। पुस २७ गते बसेको मन्त्रिपरिषद्
बैठकले राईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो।
बैठकमा राईले ठूला राष्ट्रहरूले हतियार खरिदका लागि गर्ने खर्च गरिबी, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले संयुक्त राष्ट्र संघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले साना राष्ट्रको पनि ठूला राष्ट्र सरहको सार्वभौम समानताको अधिकार प्राप्तिमा पनि आफूले सक्दो पहल गर्ने योजना पनि अघि सारे।
संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेका राईलाई राष्ट्रपतिले संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेकाे छ।