राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलाइ राजनीतिक प्रतिसाेधका कारण लगाइएको ज्यान मार्ने उद्योगको मुद्वा टुंगोमा लागेकाे छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।
गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीको गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दायर भएको थियो ।
टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दायर भएको थियो ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन् ।
त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवाना लिएको स्रेस्तेदार राजकुमार दाहालले बताए ।
त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकाले तामेलीमा राखिएको जनाएको छ ।
सरकारले आफ्ना महासचिव लगायत मुख्य नेताहरुलाइ मुद्दा लगाए पछि विप्लव नेतृत्वको पार्टीको जन अदालतले पनि केपी ओलि प्रचण्ड लगायतलाइ पनि पुर्जी काटेको थियो ।