logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संसदमा गृहमन्त्री बादलको जवाफ “निर्मलाका हत्यारा पत्ता लगाउन वर्षौं लाग्न सक्छ”


  • राजनीति
  • बुधबार, माघ २३ २०७५

गृहमन्त्री रामबहादुर थापाले संसदमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको अनुसन्धानमा वर्षौं लाग्न सक्ने जवाफ दिएका छन्। कांग्रेस सांसद डिला  संग्रौलाले ‘निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरि मुद्दा किन चलाइएको छैन’ भन्दै प्रश्न राखेकी थिइन्।

कांग्रेस सांसद डिला संग्रौलाको प्रश्नमा जवाफमा गृहमन्त्री थापाले भने – ‘अनुसन्धान अगाडि बढी राखेको छ। सम्बन्धित निकायहरु अनुसन्धानमा लागेका छन्। प्रहरीहरुलाई लापरवाहीका निम्ति कारवाही गरिसकेको छ। आवश्यक अनुसन्धान जारी छ।’ संसदमा जवाफ दिने क्रममा उनले ‘अनुसन्धान जारी रहेको र सरकार गम्भीर रहेको’, जस्ता हुलुका जवाफ दिएर पन्छिए।

थापाले जवाफ दिए लगत्तै सांसद संग्रौलाले पुन: प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेको विषयमा जिज्ञासा राखेकी थिइन्। ‘शव र कपडाको प्रमाण किन नष्ट गरियो? हत्यारा बालुवाटार र सिंहदरबारमा छन् कहाँ छन् सत्य तथ्य जवाफ दिनुहोस्’, संग्रौलाले प्रश्न सोधिन्।

‘कुनै अपराधलाई सरकारले तुरून्तै पत्ता लगाउन सक्दैन। समय लिन्छ। यो प्रकरणले पनि समय लिएको छ। सरकार छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन लागेको छ’, थापाले भने, ‘आक्रोशित मुडमा जहाँसम्म बालुवाटारमा छन् कि सिंहदरबारमा छन् भन्नुभयो, अपराधी जहाँसुकै हुन् कानुनको कठघरामा आउनेछन्।’

रक्षामन्त्री ईश्वर पोखरेलले अपराधी छिट्टै सार्वजनिक गर्ने भनेर सार्वजनिक रुपमा दिएको टिप्पणी माथि  गृहमन्त्री थापालाई कांग्रेस सांसद गगन थापाले प्रश्न सोधेका थिए।

‘सरकारका उपप्रधान एवम् रक्षा मन्त्रीले पाँच दिन भित्र सरकारले जानकारी गराउँछ दिन गरेर बस्नुहोला भन्नु भएको थियो’, सांसद थापाले सोधे, ‘यसको बारेमा गृहमन्त्रीलाइ जानकारी छ कि छैन?’

रक्षा मन्त्रीको धारणाबारे ठोस रुपमा जानकारी नभएको जवाफमा गृहमन्त्री थापाले  बताएका थिए। ‘पाँच वा दश दिन भित्र कानुनको कठघरामा आउँछ भन्नुको सार छिट्टैनै कानुनको कठघरामा ल्याउने स्पिरिट सहित आएको अनुमान गर्न सक्छु’, थापाले भने, ‘सन्दिग्ध व्यक्तिहरु सरकारको घेराभित्र आएको हुनाले त्यसलाई आधार बनाएर आएको हुनसक्छ।’

उनले रक्षामन्त्रीको धारणा गृहको आधिकारिक धारणा नभएको बताए। ‘गृहको आधिकारिक धारणा थिएन। छिट्टै नै ल्याउने स्पिरिटमा भनेको अनुमान गर्न सक्छु’, थापाले भने।

कांग्रेस सांसद दिलेन्द्र बडुले निर्मला पन्तको न्यायका लागि अनसनमा बस्नेहरुलाई विभाजित गर्ने र प्रलोभन देखाउने काम भएकोबारे प्रश्न सोधेका थिए।

जवाफमा थापाले ‘न्यायको निम्तिको अनसनमा बस्नेलाई धम्काउने गरेको सूचना नभएको’ जवाफ दिए। ‘आन्दोलन गर्ने जनताको अधिकार हो। पीडितले न्यायका निम्ति आवाज उठाउन सक्छन्’, थापाले भने, ‘आन्दोलनकारीले धम्काउने गरेको जानकारी छैन। त्यस्तो रहेछ भने छानविन गर्ने छौँ।’

राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देनले सुरुवातमा गृहमन्त्रीले गृहमन्त्रीले सूचना दिदाँ अपराधी पत्ता लागेको जवाफ संसदमा दिएको भन्दै कच्चा सूचना दिइएकोमा प्रश्न गरेका थिए। ‘अनुसन्धान प्रक्रिया नटुङ्गिदैँ शंकास्पद व्यक्ति पक्रदैँमा अपराधी पत्ता लागेको भनियो’, लिङ्देनले सोधे, ‘कच्चा सूचना राज्यको तर्फबाट आयो।’

जवाफमा गृहमन्त्री थापाले ‘निर्मला प्रकरणमा सदनमा जानकरी दिदाँ गृह मन्त्रालयले प्राप्त सूचनाका आधारमा’ अवगत गरेको बताए। ‘केन्द्रबाट अनुसन्धान टोली खटाइएको थियो। प्रेषित रिपोर्टलाई सम्मानित सदनमा राखेको थिएँ’, उनले भने, ‘सुरुमा दुई जनाले साविती बयान दिएका थिए। पछि उनीहरु अरु टेस्ट र छानविनमा प्रमाणित नभएकाले मुक्त गरिएको हो। कतिपय सूचना अपुरो अधुरो र गलत हुनसक्छ। राज्यले ध्यान दिनुपर्छ भन्ने लाग्छ।’

अर्की सांसद सुजाता परियारले भने ‘निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बितेको भन्दै कहिलेसम्म हत्यारा पत्ता लाग्छ’ भन्दै प्रश्न सोधिन्।

जवाफमा गृह मन्त्रीले छानविन भैराखेको जवाफ दिए। ‘सरकार अपराधीलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन प्रतिबद्ध छ’, थापाले भने, कतिपय घटनामा अनुसन्धान गर्दै जाँदा लामो समय लिन सक्छ। कहिलेकाँही अपराध अनुसन्धानमा तुरुन्तै कानुनको कठघरामा ल्याउन समय लाग्छ। बर्षौ पनि लाग्छ। तर जहिलेपनि राज्यको प्रतिबद्धता के हुन्छ भने अपराधी कठघरामा ल्याउने र न्याय दिने भन्ने हो। हामी यहि प्रयास गरिरहेका छौँ।’

नेकपाका सांसद महेश बस्नेतले भने प्रश्न सोध्नुको साटो गृहमन्त्रीको बचाउ गरे। उनले नेपाल प्रहरी अनुसन्धानमा ९६ प्रतिशत सफल भएको भन्ने गृहमन्त्रीले राखेको धारणामै बधाई दिए। उनले निर्मला प्रकरण मानवअधिकार र मिडियाका लागि गरिखाने विषय भएको टिप्पणी गरे। साथै प्रतिपक्षका लागि मुद्दा भएको बताए। उनले घटनाको क्रममा कञ्चनपुर प्रहरी प्रमुख रहेका दिलिपसिंह बिष्टलाई एसपी बनाए राखिरहने तर्फ अनुसनन्धान केन्द्रित गर्न सुझाव दिए।

गृहमन्त्री थापाले ‘त्यो विषयमा पनि सरकार केन्द्रीत छ’ भन्दै जवाफ फर्काए।
सेतो पाटी डटकम बाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार