राजनीति
अहिले मुलुकमा संसदीय ब्यवस्था चलीरहेको छ । यसका आफनै मर्यादा र सहिता हुन्छन । प्रचलन अनुसार सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुको भाषा शैली नरम र मर्यादित हुनुपर्ने प्रावधान छ ।
तर बुधबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा त्यस्तो अवस्था रहेन । प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाए । साथै मुख्यमन्त्रीलाई ‘निरीह’ र ‘रुँदै हिँडेको’ जस्तो आरोपसमेत लगाएका थिए ।
संघीय प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश सभा बैठकमा सरकारको धारणा मागेको छ ।
माघ २३ गते बसेको प्रदेश सभा बैठकको विषेश समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले मुख्यमन्त्री राईमाथि महिला हिंसासम्बन्धी आरोप लागेको भन्दै यसबारे प्रदेश सरकारको धारणा मागेका हुन् ।
‘मुख्यमन्त्री राईमाथि महिला हिंसाको विषयमा नाम जोडियो’ कांग्रेस सचेतक कार्कीले भने ‘आम जनताले यस विषयमा हामीलाई सोध्ने काम भयो, हाम्रो शीर निहुरियो । तर, सरकारको तर्फबाट यस विषयमा न कुनै स्पष्टीकरण आयो, न कुनै सन्देश,’ कार्कीले प्रदेशसभामा प्रश्न गरे, ‘सरकार किन चुँइक्क बोलेन ?’
मुख्यमन्त्री राईमाथि केही समयअघि नेकपाकै कार्यकर्ता रहेकी एक महिलाले आफू हिंसाको शिकार भएको आरोप लगाएकी थिइन् । उनले यस्तो आरोप धेरै पहिलेदेखि नै लगाउँदै आए पनि अप्रमाणित रहँदै आएको छ ।
मुख्यमन्त्री राई अहिलेसम्म अविवाहित छन् । जबजब उनको विवाहको कुरा चल्छ, उनै महिलाको विषय सामाजिक सञ्जालमा आउने गर्छ ।
यही क्रममा बुधबार मुख्यमन्त्री राईमाथि लागेको वैयक्तिक आरोपबारे कांग्रेस सांसदले बोलेपछि यो विषय प्रदेशसभाको रेकर्डमा रहेको छ । सभामुखले यसलाई रेकर्डबाट हटाउन कुनै रुलिङ गरेनन् ।
कांग्रेस सचेतक कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संघीय सरकारसमक्ष निरीह भएर रुँदै हिँडेको आरोपसमेत लगाए । उनले प्रदेश सरकारले प्रदेशका जनताको पक्षमा काम गर्नु भन्दा पनि दुई तिहाइको दम्भ पालेर अति नै पात्तिने र जथाभावी बोल्ने गरेको बताए ।
शून्य समयमा मोहनकुमार खड्का, सूयर्माराज राई, विद्या कार्की, वसन्तीदेवी यादव, सन्ध्याकुमारी दासलगायतले बोलेका थिए ।