राजनीति
पोखरा- वाइडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा छानबिन प्रक्रिया जारी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।
बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले वाइडबडीबारे छानबिन भइरहेको बताएका हुन् ।
साथै मन्त्री बाँस्कोटाले वाइडबडी कतै नहराएको भन्दै कटाक्ष समेत गरे । ‘वाइडबडी हराएको छैन, अस्ति भर्खर मैले ठू-ठूला वाइडबडी मान्छेको हातहातमा देखेको थिएँ,’ मन्त्री बाँस्कोटाले भने ।
नेपाली कांग्रेसले ‘डमी’ वाइडबडी लिएर गरेको सरकारविरोधी आन्दोलनलाई लक्षित गर्दै मन्त्री बाँस्कोटाले कटाक्ष गरेका हुन् ।
फेसबुकमा पर्चा हालेको भरमा विद्यालय बन्द गर्नु नहुने
त्यसै गरी उनले फेसबुकमा पर्चा हालेको भरमा विद्यालय बन्द गर्नु नहुने बताए।
‘समाज, विद्यालय प्रशासन, विद्यार्थी, राजनीतिक दल र तिनका संगठनहरुले नै शिक्षा क्षेत्रमा शान्ति कायम हुने हो। विद्यालय मात्र होइन द्वन्द्व सकिसक्यो अब सिंगै देश शान्ति क्षेत्र हो। फेसबुकमा यसो पर्चा हालेका भरमा बन्द गरेर हिँड्नु पनि भएन’, उनले भने।
नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र पक्राउको विरोधमा सो पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मुलुकभरका शैक्षिक संस्था बन्द गराएको छ। यही विषयमा सञ्चारकर्मीले प्रश्न सोधेका थिए।