राजनीति
हिजाे राति ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएकामध्ये १ जनाको ज्यान गएको छ । विष्फोटमा परी घाईते भएका तीन जनामा मध्ये सिंहप्रसाद गुरुङको उपचारको क्रममा ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।
लम्जुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बम विस्फोटमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जना एनसेल टावरको सुरक्षाका लागि खटिएका गार्ड हुन् । उनीहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीकाअनुसार मोटरसाइकलमा आएका केही व्यक्तिहरू गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका बताइएकाे छ।