राजनीति
रवीन्द्र अधिकारीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भनेर अनावश्यक हल्ला गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको बताए ।
‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न ।’ प्रधानमन्त्री ओलीले भने, ’तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’वाइडबडीबारे रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘मलाई दुःख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने काम पनि भयो ।’
‘उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।’ प्रधानमन्त्री ओलीले भने, ‘तर, पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’
तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैँले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ गएको प्रधानमन्त्री ओलीले चर्चा गरे ।प्रधानमन्त्री ओलीले दुर्घटना र उद्दारदेखि श्रद्धाञ्जली कार्यक्रमबारे संसदीय दललाई जानकारी गराएका थिए।
बैठकले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सातजनाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ।