राजनीति
सुरेश पन्त महेन्द्रनगर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम की १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेटेका छन् ।
देउवाले बिहान भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित निर्मला पन्तकी आमा दुर्गादेवी पन्तसहित परिवारलाई भेट्न पुगेका थिए ।
देउवाले हत्यारा पत्ता लाग्नेमा ढुक्क हुन आग्रहसमेत गरेका छन् । निर्मलाकी आमा दुर्गा पन्तसँग भेटघाट गर्दै उनले जसरी भए पनि अपराधी पत्ता लाग्ने आश्वासन दिएका छन् । उनले ढिलै भए पनि अपराधी पत्ता लाग्ने र त्यसका लागि सरकार गम्भीर हुनुपर्नेमा भन्दै उनले आफ्नो पार्टीका तर्फबाट पनि पीडित परिवारलाई न्याय दिलाउने बचन दिए । उनले नेपाली कांग्रेसले सुरुवातदेखि नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न दबाब दिँदै आइरहेको भन्दै दबाब कायमै राखिने बताए ।
निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले पूर्वप्रधानमन्त्री समक्ष सात महिना बितिसक्दासमेत छोरीका हत्यारा पक्राउ पर्न नसकेको भन्दै वास्तविक हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी छन् ।निर्मलाकी दिदी मनिषा पन्तले पनि पूर्वप्रधानमन्त्रीलाई आफ्नी बहिनीका हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरिन् ।
यस्तै, निर्मला पन्तको न्यायका लागि गठित नागरिक संघर्ष समितिले समेत देउवालाई ज्ञापनपत्र बुझाएको थियो । संघर्ष समितिका संयोजक मीना भण्डारीले सात महिना बितिसक्दासमेत हत्यारा पक्राउ नपरेको भन्दै पहल गरिदिन आग्रह गरिन् ।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या भएको सात महिना बितिसक्दासमेत अझै हत्यारा पत्ता लाग्न सकेको छैन ।