राजनीति
गण्डकी- खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भन्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका छन्।
शनिबार सिंहले कांग्रेस गण्डकी गाउँपालिका स्तरीय प्रशिक्षणमा सरकार हरेक क्षेत्रमा असफल भइसकेको दाबी गर्दै भ्यने‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?,’ सिंहले प्रश्न गरे।
उनले सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले मेलम्ची आयोजना पूरा हुन नसकेको पनि आरोप लगाए।‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री, सचिव कुरा मिलेको छैन,’ उनले भने।
सरकारले धूलो र हिलोबाहेक केही दिन नसकेको आरोप उनले लगाए। सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ। सांगठानिक र वैचारिक रूपबाट प्रष्ट भएर पार्टीलाई विधिसम्मत चलाउन उनले नेतृत्वलाई आग्रह गरे।