logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रबिन्द्र अधिकारीकी श्रीमती बिधाको भावुक सम्बोधन


  • राजनीति
  • मंगलबार, फाल्गुन २१ २०७५

हेलिकप्टर दुर्घटनामा परी दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरेकी छन् ।

गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको सोमबार ७ दिनमा काजकिरिया पूरा भएको छ । सोमबार नै भएको श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन पनि गरिन् । गला अवरुद्ध पार्दै उनले भनिन्, ‘हाम्रो परिवारप्रति हजुरहरुले गर्नुभएको जुन सम्मान छ, त्यसलाई भुल्यौं भने त्यो सायद अपुरो हुन्छ भन्ने लागेर असमर्थताका बाबजुत पनि यहाँहरुसामू उपस्थित भएको छु ।’

अहिले आफ्नो परिवारले मात्र नभई सिंगो देशले रवीन्द्रको अभाव व्यहोरेको महसुस भएको उनले बताइन् । ‘हाम्रो परिवारसँग देश छ, पार्टी छ र आम जनसमुदाय हुनुहुन्छ । त्यही ढाडसले गर्दा यहाँहरुको अगाडि उभिरहेको छु र बोलिरहेको छु’ भनिन् ।

अकल्पनिय दुुर्घटना व्यहोनुपर्दा आफूहरु दुःखी भए पनि पार्टीले रवीन्द्रको सपना र विचारलाई बोकेर अघि बढ्ने छ विश्वास दिलाएको उनले बताइन् । ‘गुमेका कुराभन्दा पनि उहाँको विचार, अभिलाशा र उद्देश्यहरुलाई पुरा गर्न सिंगो पार्टी लाग्नेछ, सरकार लाग्नेछ’ उनले भनिन्, ‘परिवार त एउटा सानो इकाइ हो । हाम्रो साथ पार्टीलाई रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले रवीन्द्र अधिकारीको राजनीतिक जीवनमा आमाबाबु, भाइ र बहिनीको योगदानको चर्चा गरिन् । आफूलाई पनि राजनीतिले नै रवीन्द्रसँग जोडेको भन्दै उनले पारिवारिक व्यवस्थापनमा अफ्ठ्यारो पार्न सक्छ भन्ने लागेर विवाहपछि प्राज्ञिक क्षेत्रमा लागेको सुनाइन् । ‘उहाँको उत्कृष्ट, अब्बल र परिणाममुखी भएर अघि बढ्नुपर्छ भन्ने सोच थियो । त्यो सोचबाट आज हामीले उर्जा प्राप्त गरेका छौं’, अखिलको सचिवसम्म भएकी विद्याले भनिन् ।

उनले ‘रवीन्द्र स्मृति प्रतिष्ठान’ बनाउने सोच परिवारले बनाएको भन्दै पार्टी र नेताहरुसँग सरसललाह गरेर बाँकी काम अगाडि बढाउने प्रतिवद्धता जनाएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार