चर्चित नेता तथा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेता विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ताअघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लव सहित जिल्लास्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर भएको हो ।
रोल्पा जिल्ला प्रहरी कार्यालयले मंगलबार महासचिव विप्लव सहितका नेताका नाममा मुद्दा दायर गरिएको जनाएको छ । टावरमाथि आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए ।
‘विभिन्न स्थानबाट नेकपाका तीनजनालाई पक्राउ गरिएको छ,’ प्रनाउ खड्का भन्छन्, ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदामाथि क्षति पुर्याएकाले पक्राउ गर्नु परेको हो ।’ परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लव सहितलाई जिल्लामा राज्यको तर्फ बाट मुद्दा दायर गरिएको यो पहिलो हो ।