logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गिरिजाकै पालामा मुलुक धर्मनिरपेक्षतामा कसैले बोलेर केही हुँदैन: देउवा


  • रासस
  • आइतबार, चैत्र ३ २०७५

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश धर्मनिरपेक्षमा गइसकेकोले त्यसबाट पछि हट्न नसकिने संकेत गरेका छन्।

पार्टीभित्र हिन्दु राष्ट्र कायम गराउनुपर्ने आवाज उठेका बेला सभापति देउवाले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकै पालामा मुलुक धर्मनिरपेक्षतामा गएकोले त्यसबाट पछि हट्न नसकिने बताएका हुन्।

शनिबार पाल्पामा पत्रकारहरूसँगको कुराकानीमा देउवाले कांग्रेस संविधान मानेर अघि बढ्ने बताएका हुन्।

‘गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकोले शेखर र शशांकले हिन्दु धर्मका पक्षमा बोलेर केही हुन्न,’ सभापति देउवाले भने।

महामन्त्री कोइरालाले धर्मका बारेमा जनमतसंग्रह गर्नु पर्ने सार्वजानिक रूपमा बताउँदै आएका छन्।

गएको पुसमा बसेको महासमिति बैठकका बेला पनि देशलाई हिन्दु राष्ट्र बनाउनुपर्ने भन्दै कांग्रेसका केही नेताले हस्ताक्षर अभियान चलाएका थिए।

सरकारले एक वर्ष अवधिमा राम्रा काम गर्न नसकेको पनि देउवाले बताए। प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएकोबारे सोधिएको प्रश्नमा देउवाले भने,‘कांग्रेस रेलिङ भाँच्ने पार्टी होइन।’

देउवाले नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आग्रह गरे। सरकारले नेकपासँग वार्ता गर्नुपर्ने देउवाले बताए।

‘हत्याहिंसा छाडेर वार्तामा आउनुहोस्,’ देउवाले भने। सरकारले चन्दका गतिविधिमाथि लगाएको प्रतिवन्धलाई कांग्रेसले वार्ताबाटै समाधान खोज्न आग्रहसमेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार