logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

युवा नेता गगन थापाको गुजारा यसरी चल्दो रहेछ


  • राजनीति
  • बुधबार, चैत्र १३ २०७५

“म गगन कुमार थापा, पुख्र्यौली थलो सोलुखुम्बु हो । मेरो बुवा सरकारी इन्जिनियर हुनुहुन्थ्यो । सिन्धुपाल्चोकको सुनकोसी पावरहाउसबाट बुवाले जागिर सुरु गर्नुभएको हो । म त्यहीबेला नै काठमाडौंमा जन्मेको हुँ । तर, मेरो प्रारम्भिक बाल्यकाल सिन्धुपाल्चोकमा बित्यो ।

हाम्रो काठमाडौं रातोपुलमा घर छ । मैले दुई कक्षादेखि काठमाडौंमा पढेको हुँ । त्यसपछि काठमाडौंमै बसेँ, हुर्कें । म एक प्रकारले काठमाडौंकै बासिन्दा हुँ । मैले ०४८ सालमा एसएलसी पास गरेको हुँ । बुवा सरकारी सेवामै हुनुहुन्थ्यो । योसँगै हाम्रो व्यवसाय पनि थियो– पुस्तक पसल, पब्लिकेसन । मैले सानैदेखि हाम्रो व्यवसायलाई नियाल्ने मौका पाएँ । त्यतिबेला एसएलसी पास भएपछि ६ महिनाजति खालि बस्नुपथ्र्यो । बुवाले पनि ‘पकेट खर्च चाहिने भए काम गर’ भन्नुहुन्थ्यो । त्यतिबेला मैले पसल, पब्लिकेसनमा काम गरें । काम गर्ने बानी पर्यो । भनौं, पैसा कमाउने लत लाग्यो ।

पछि हाम्रो परिवारले पसल र पब्लिकेसनको व्यवसाय छाड्यो । म त्रिचन्द्र कलेज भर्ना भएँ । यसबीचमा मैले ट्युसन पढाएँ । मैले घर–घर गएर र आफ्नै घरमा विद्यार्थी बोलाएर पनि पढाएँ । यहीबीचमा मैले एफएम रेडियोमा काम गरें । त्यसपछि मैले मिडिया एजेन्सी खोलें । ट्युसन सेन्टर पनि खोलें ।

जनआन्दोलन ०६२÷६३ पछि भने बुम इन्टरनेसनल भन्ने कम्पनी खोलें । यसले खासगरी डिजे अर्थात् विभिन्न फेस्टिबलमा म्युजिक बजाउने सम्बन्धमा प्राविधिक तालिम दिन्थ्यो । केहीपछि मैले बुम इन्टरनेसनल पनि छाडें ।
अनि, कृषिमा काम गर्न मन लाग्यो । केही साथीहरुसँग मिलेर सुनखानी एग्रिकल्चर प्राइभेट लिमिटेड खोलें ।
यसबाट पहिले नुवाकोटमा बाख्रापालन सुरु गरेका थियौँ । पछि बन्द गर्यौं । अहिले काठमाडौंमा दुईवटा मासु पसल छन् ।

अहिले यसमै लागिरहेको छु । यसलाई भर्खरै मात्रै चितवनसम्म विस्तार गरेका छौं । चितवनको कुमरुज भन्ने ठाउँमा पौरखी एग्रिकल्चर प्राइभेट लिमिटेड खोलेका छौं । यो एउटा सोसियल मुभमेन्ट जस्तो पनि हो । अहिले आम्दानी गर्नेभन्दा पनि यसलाई विस्तार गर्न हामी केन्द्रित छौं । चितवनमा जमिन किनेर माछापालन व्यवसाय सुरु गरेका छौं ।

राजनीतिसँगै कुनै पेसा–व्यवसाय पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले यसैबाट अहिले नै नाफा खोजेको त छैन । अहिले त यसलाई विस्तार गर्दै छौं । तर, यसलाई मेरो भविष्यको आम्दानी अझभनौं जीविकोपार्जनको माध्यम बनाउन लागिपरेको छु ।

काठमाडौंमा हाम्रो परिवार नै बस्छ । म, श्रीमती, छोराछोरी, बाआमा सँगै बस्छौं । अहिले घरमा म र साना छोराछोरीबाहेक सबै कमाउने हुनुहुन्छ । मेरो बुवा अहिले पनि काम गर्नुहुन्छ । मेरी श्रीमती डक्टर हुन् । हामी चार भाइ हौं । मभन्दा माथि एकजना दाइ हुनुहुन्छ । मभन्दा मुनि दुई भाइ छन् । दाइ इन्जिनियर हुनुहुन्छ । सानो भाइ डक्टर अर्को भाइ इन्जिनियर छ । तीनैजना विदेशमा काम गर्छन् । एउटा जर्मनी र दुईभाइ अमेरिका छन् । परिवारका सबै कमाउने भएकाले पनि अहिले मलाई थोरै सुविधा छ भनौं । एक किसिमले मैले परिवार चलाउन पैसा कमाउनैपर्ने छैन । सबैले मलाई सपोर्ट गर्नुहुन्छ । तँ आफ्नो बाटोमा अघि बढ् भन्नुहुन्छ । सबैको सहयोगमै भनौँ मेरो गुजारा सहज नै छ ।

अहिलेको मेरो कमाइ भनेको सभासद्को तलब–भत्ता नै हो । चावहिलमा मेरो सांसदको कार्यालय भन्ने छ । यो मेरो सचिवालयजस्तो हो । मेरो निर्वाचन क्षेत्रलगायत अन्य क्षेत्रमा मैले गर्नुपर्ने काम–कार्यक्रमको तय यहीँबाट हुन्छ । यसमा एकजना इन्जिनियर कार्यालय प्रमुख छन्, एमबीए इन्जिनियर । अरु तीनजना कर्मचारी छन् । एउटा फ्ल्याटमा कार्यालय छ । भाडा, कर्मचारीलाई तलब खुवाउनुपर्छ । यसमा मेरो व्यक्तिगत खर्च हुन्छ । तर, मेरो तलब–भत्ताले कार्यालय सञ्चालन गर्न लगभग पुगेको छ । सभासद्को तलब–भत्ता मैले व्यक्तिगत रुपमा प्रयोग गर्न पाउँदिनँ । निर्वाचनकै बेला मैले यो कार्यालय खोल्ने प्रतिबद्धता गरेको थिएँ ।

मलाई संसद्ले बैंक खाता खोलिदिएको छ । मेरो व्यक्तिगत बैंक ब्यालेन्स छैन । सामान्यतः मैले पैसा बोकेर हिँड्दिनँ । घरखर्च चलाउनुपर्दैन । श्रीमतीले नै घर चलाउँछिन् । बुवाको घरमा बस्छु । मेरो नाममा जग्गा छैन ।
म जनताको गुजाराबारे पनि जानकार नै छु । सुरुमा मैले पब्लिकेसनमा काम गरें । ट्रेनिङ सेन्टर चलाएँ । मैले चलाएको ट्रेनिङ सेन्टरबाट कति कामदार उत्पादन भएका छन् । विभिन्न रेडियोमा काम गर्छन् । त्यसैले म काम र गुजारासँग जानकार नै छु ।

अन्य राजनीतिककर्मीभन्दा गुजारामा मलाई सजिलो होला । म काठमाडौंको भएँ । बुवा जागिरे । मेरा दाजुभाइको उच्च आर्थिक हैसियत छ । परिवारको सुविधाको घेरामा परेकाले मलाई अरुको तुलनामा सजिलो होला । मेरो जस्तै सबै राजनीतिककर्मीको अवस्था छ भनेर हेरिनुहुन्न । बाहिरी जिल्लाका अझ भनौं दुर्गम भेगका सभासद् जो काठमाडौंमा बस्नुहुन्छ, जिल्ला आतेजाते गर्नुहुन्छ, उहाँहरुलाई तलब–भत्ताले एकछेउ पनि पुग्दैन जस्तो लाग्छ ।”

गगन थापा समर्थक पेज बाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार