पोखरा- डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकताको प्रयत्न घनीभूत भएको छ ।
फोरम नेपालले राजपा नेपालसँग एकता गर्ने प्रकृया शुरु गरेपनि एकपटक पनि औपचारिक वार्ता भएको छैन । तर नयाँ शक्तिसँग भने औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा नयाँ शक्ति नेपाल र फोरम नेपालबीच दुई पटक औपचारिक वार्ता भइसकेको छ ।
फोरम नेपालले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समिति र नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा गरेको राजनीतिक संवाद समितिबीच छलफल भएको नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए ।
यी दुई दलबीच पहिला पनि पटक पटक वार्ता भएको थियो तर नेतृत्वका लागि कुरा नमिलेपछि तत्कालका लागि वार्ता स्थगित गरिएको थियो । एकीकरण अन्तिम चरणमा पुगिसकेको अवस्थामा नेतृत्वमा कुरा नमिल्दा चुनावपछि पुनः छलफल गर्ने गरी वार्ता स्थगित भएको थियो । त्यही वार्ता पुनः शुरु भएको छ ।
स्रोतका अनुसार नेकपाको मोडल जस्तै बाबुराम भट्टराई र उपेन्द्र यादव दुईजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको छ । यसअघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नै अध्यक्षको दावी गरेको कारण कुरा मिलेको थिएन तर अहिले महाधिवेशनसम्मका लागि दुवैजना अध्यक्ष रहने विषयमा छलफल भइरहेको बताइएको छ ।मंसिरमा बसेको फोरम नेपालको केन्द्रीय समितिको बैठकले राजपा नेपाललगायत अन्य दलहरुसँग एकताका लागि वार्ता समिति गठन गरेको थियो । समितिले पुस १९ गते तयार पारेको पत्र राजपा नेपालले फागुन १० गते प्राप्त गरेको थियो ।यसपटक पनि त्यही हुने सम्भावना बढेको छ । एकताका लागि राजपा नेपालसँग वार्ताको प्रकृया अगाडि बढाएको छ तर नयाँ शक्तिसँग पहिला एकीकरण हुने सम्भावना बढ्दै गइरहेको देखिएको छ ।एसके यादवले रातोपाटीमा लेखेका छन।