logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहमन्‍त्रीको गुन्डा नाइकेको सगको कनेक्सन (यस्तो रहेछ)


  • नेपाल समय बाट
  • आइतबार, चैत्र १७ २०७५

कर्मचारी सञ्चय कोषका व्यापारीलाई धम्क्याएर उठिबास लगाउने कुख्यात गुन्डा नाइके राजु गोर्खालीलाई गृहमन्त्री रामबहादुर थापाले नै काखी च्यापेपछि न्याय पाउने आसमा रहेका दुई सय व्यापारी थप बिचल्लीमा परेका छन् ।

कर्मचारी सञ्चय कोषको सुन्धारास्थित काठमाडौं मलमा गुन्डा नाइके राजु गोर्खालीले एकाएक कब्जा जमाएपछि पीडित बनेका व्यापारीले प्रहरीसमक्ष उजुरी दिएका थिए । प्रहरीले गोर्खालीलाई नयाँबानेश्वरबाट गत फागुन २० गते पक्राउ गरेको थियो ।

गोर्खालीलाई गृहमन्त्री रामबहादुर थापाले मुक्त गर्न प्रहरी प्रशासनलाई चर्को दवाब दिए । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मातहतका निकायलाई निर्देशन दिएअनुसार गोर्खाली मुक्त भएका छन् । गोर्खाली गुन्डागर्दी र ज्यान मार्ने उद्योगमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन्।

यस्तो छ घटना

व्यापारी शिवलक्ष्मी कोजुले गत वर्ष टेन्डरमार्फत सुन्धारास्थित काठमाडौं मल ७८ लाखमा ठेक्कामा लिएकी थिइन् । कोजुले अघोषित रुपमा ७८ लाखमा लिएको ठेक्का गुन्डा नाइके राजु गोर्खालीलाई दुई करोड ४० लाखमा हस्तान्तरण गरेको पाइयो । त्यसपछि गोर्खालीले सटर भाडा चार गुणासम्म बढाए । केही सटरलाई तत्कालै छोड्न लगाए र केहीलाई चाहेर पनि हट्न दिएनन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार साना व्यापारीलाई गोर्खालीले रातारात हट्न बाध्य पारेका छन् भने केही ब्रान्डेड पसललाई हट्न दिएका छैनन् । ती अधिकारीले भने, ‘६ जना पीडितको उजुरी परेपछि हामीले गोर्खालीलाई पक्राउ गरेर अनुसन्धान थालेका थियौं ।’

कोजुबाट अघोषित रूपमा काठमाडौं मल हत्याएका गोर्खालीले मनोमानी भाडा बढाउने र व्यापारीलाई आतंकित पारेको पीडितले बताएका छन् । गुन्डा नाइकेको अत्याचारबाट आहत बनेका काठमाडौं मलका व्यापारी गोर्खाली पक्राउ परेपछि केही न्याय पाउने आसमा थिए । तर अहिले गोर्खाली मुक्त भएपछि थप चिन्तित बनेका छन्। गोर्खालीबाट पीडित मलका व्यापारी उनी छुटेपछि थप त्रसित बनेका छन् ।

यस्तो छ गुन्डा नाइके र गृहमन्त्री कनेक्सन

२०५० देखि नै कुख्यात गुन्डा नाइकेका रूपमा चर्चित गोर्खाली रोयल डिस्कोलगायतमा रात्रिकालीन अवैध कारोबारी हुन्। एक डिस्को सञ्चालक राकेश लिम्बुको हत्यामा संलग्न रहेको आरोपमा सजायसमेत भुक्तान गरिसकेका उनी पटकपटक पक्राउ पर्दै राजनीतिक दबाबमा छुट्दै आएका छन् ।

चाबहिल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी, अपहरण र हप्ता असुली गर्दै आएका गोर्खाली समूहका करिब दर्जन छोटे गुन्डालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गृहमन्त्री थापाको हस्तक्षेपका कारण प्रहरीले अनुसन्धान सुरु गर्नै नपाई उनी रिहा हुँदै आएका छन् ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार गुन्डा नाइके राजु गोर्खालीको मुद्दा अगाडि नबढाउन र उनलाई तत्काल रिहा गर्न गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक खनाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको आदेशअनुसार आइजिपी खनालले गुन्डा नाइके गोर्खालीलाई छोड्न प्रहरी अधिकारीलाई दबाब दिएका थिए ।

गृहमन्त्री थापा र आइजिपीले पक्राउ परेका राजु गोर्खालीलाई तत्काल छाड्न निर्देशन दिँदा अचम्ममा परेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । उनले भने, ‘यस्तो छ हाम्रो देशको हालत । शान्तिसुरक्षाको बागडोर सम्हालेका गृहमन्त्री र प्रहरी प्रमुखले गुन्डा नाइकेलाई छाडन दबाब दिन्छन् । उहाँहरूका भाषण भने शान्तिसुरक्षा र सुशासनभन्दा अरू हुँदैन ।’

गृहमन्त्री थापाले छोरा प्रतीक, गुन्डा नाइके गोर्खाली, उपराष्ट्रपति छोरा दीपेश पुन र वाइसिएलका केही नेता मिलेर उपत्यकामा अवैध रुपमा ढुङ्गा, बालुवाखानीलगायत कारोबारमा संलग्न छन् । वाइसिएलका केही नेता र नेकपाका उच्च नेताका छोरासँग व्यापारिक साझेदारी भएका कारण स्वयं गृहमन्त्री थापाले गोर्खालीलाई छाड्न दबाब दिएको अनुसन्धानमा संलग्न अधिकारीले दाबी गरेका छन् ।

व्यापारीलाई धम्क्याउँदै रातारात काठमाडौं मल कब्जा गरेका गोर्खालीविरुद्ध उजुरी दिने पीडितलाई गृहमन्त्रीको निर्देशनमा प्रहरीले उजुरी फिर्ता लिन दबाब दिएको गुनासो पीडितको छ ।
एक पीडित व्यापारीले भने, ‘आफूहरुलाई गृह मन्त्रालय समालेका थापाले न्याय दिनुको सट्टा गुन्डाको पक्ष लिँदा गुन्डा नाइकेको मनोबल थप बढेको छ ।’

कर्मचारी सञ्चय कोषले भने कोषले बनाएका भवन कुनै ठेकदारलाई नदिई आफैंले भाडामा दिने तयारी गरेको छ । कर्मचारी सञ्चय कोषका एक अधिकारीका अनुसार सुन्धारास्थित काठमाडौं मलमा विवादपछि भाडामा दिनका लागि पुनः टेन्डर खुलाउने विषयमा छलफल भइरहेको छ।

गुन्डा नाइकेलाई गृहमन्त्रीले नै संरक्षण गरेको र कारबाही नगर्न निर्देशन दिएको सूचना पाएपछि कोषले पुनः टेन्डर गरी भाडामा लगाउने विषयमा छलफल भइरहेको जानकारी ती अधिकारीले दिए ।

नेपाल समय बाट सभार

https://nepalsamaya.com/news/11170

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार