logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कांग्रेस जिल्ला सभापतिहरूको भेला : पार्टीको विधान परिमार्जन हुने पत्रकारलाई निषेध


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली  काँग्रेसका जिल्ला सभापतिहरु बुधबार काठमाडौंमा भेला हुँदै छ । जिल्ला सभापतिहरु पार्टीको परिमार्जित तथा संशोधित विधानमा स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचार गर्न दबाब स्वरुप भेला हुँदै छ ।

उनीहरुको भेला बुधबार र बिहिबार गरी दुई दिनसम्म चल्ने छ । चैत २३ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना माग मुखरित गराउने योजना रहेको देखिन्छ ।  गत मंसिर–पुसमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएको मौखिक प्रतिबद्धता विपरित पार्टी केन्द्रीय कार्यसमितिबाट बहुमतले पारित विधानमा पुनर्विचार गर्नुपर्ने जिल्ला सभापतिहरुको जोडदार माग छ ।

फागुन १२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट संस्थापन इतरसमूहको विरोधका बाबजूत पार्टी विधान बहुमतबाट पारित भएको थियो । त्यसयता  जिल्ला सभापतिहरु संस्थापन समूहसँग क्रुध बनेका छन् । जसमा संस्थापन इतर निकट जिल्ला सभापतिहरुको पहल कदमीमा संस्थापन समूहलाई दबाब दिने कार्य भइरहेको छ ।

फागुन २१ गते ५६ जिल्ला सभापतिहरुले महासमिति बैठकमा प्रतिबद्धता जनाइसकेको विषयलाई उल्टाएर सभापति देउवाले आफ्नो विश्वसनियतालाई गम्भीर क्षति पुर्याउने काम गरेको भन्दै यो निर्णयमाथि शीघ्र पुनर्विचार गर्न जोडदार माग गरेका थिए ।

साथै उनीहरुले विशेष महाधिवेशनको पहल गर्न समेत बाध्य हुने चेतावनी दिएका थिए । यो मुद्दामा संस्थापन र संस्थापन इतरपक्षीय अधिकांश जिल्ला सभापतिहरु एकै ठाउँमा देखिन्छन् । काँग्रेसको रुकुम पश्चिम, नवलपरासी पूर्व र स्याङजा जिल्लामा पार्टी नेतृत्व छैन ।

नयाँ दुई जिल्लामा काम चलाउ र स्याङ्जामा कार्यबाहक सभापति छन् । उक्त विज्ञप्तिमा सभापति देउवा निकट रहेका १९ जिल्ला सभापतिहरुले मात्रै विमति राखेका थिए । यद्यपि, सभापति देउवा निकट पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले भने आफूनिकट जिल्ला सभापतिहरुको नाम दुरुपयोग गरिएको दाबी गरेका थिए ।

त्यसयता जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै आफूहरुको माग सम्बोधन गर्न भन्दै पार्टी विधान पारित गर्दा केन्द्रीय समितिले गरेको निर्णय पुरर्विचार गर्न आग्रह गर्दै आएका छन् । उनीहरुलाई संस्थापन इतरका शीर्ष नेताहरुको साथ रहेको छ । नेता शेखर कोइरालाले जिल्ला सभापतिहरुले पहल गरे विशेष महाधिवेशनका लागि आफूहरुको साथ रहेको बताउँदै आएका छन् ।

जिल्ला सभापतिहरुले यसबीचमा पार्टी सभापति देउवा, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेतालाई भेटेर निर्णय पुनर्विचारका लागि आग्रह गरेका थिए । सबै नेताहरुले जिल्ला सभापतिहरुको मागमा आफूहरु सकारात्मक रहेको बताएका थिए ।

यद्यपि, सभापति देउवाले बहुमत केन्द्रीय सदस्यको माग आफूले उपेक्षा गर्न नसकेको जिल्ला सभापतिहरुलाई प्रतिक्रिया दिए । यता विधान संशोधन मस्यौंदा समितिका संयोजक महामन्त्री खड्काले भने पार्टी सभापति र वरिष्ठ नेताहरु आफू निकटका नेताहरुलाई मनाउन सके विधानमा पुनर्विचार गर्न गाह्रो नरहेको बताएका थिए ।

पार्टीका तल्ला तहका नेता तथा कार्यकर्ताले केन्द्रीय केन्द्रीय पदाधिकारी, सदस्य, सांसदलगायत सबै नेताहरु वडा तहबाटै चुनावी प्रतिस्पर्धा गरेर महाधिवेशनमा जानुपर्ने माग उठाउँदै आएका छन् । अधिकांश केन्द्रीय सदस्यमा आफूहरु बुथमै पराजय हुने ‘भय’ पैदा भएको छ ।

तलैबाट चुनाव हारेमा केन्द्रीय तहमा प्रतिस्पर्धा गर्ने ढोका बन्द हुने भएकाले पनि अधिकांश केन्द्रीय सदस्य पुरानै व्यवस्था राख्नुपर्ने पक्षमा सुरुदेखि लबिइङ मा थिए । जसका सामू सभापति देउवा घुडा टेक्न बाध्य भएको उनले आफू निकट जिल्ला सभापति सामू स्वीकार गरिसकेका छन् ।

केन्द्रमा संस्थापन इतर पक्षको बलियो साथ पाएका जिल्ला सभापतिहरु सभापति देउवालाई बारम्बार घुर्की र चेतावनी दिँदै आएका छन् । सोही कुराको निरन्तरता स्वरुप उनीहरु आजबाट काठमाडौंमा भेला हुँदैछन् । तर जिल्ला सभापतिहरुलाई यो भेला त्यति सहज भने देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार