logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिबन्धित विप्लवको पार्टीलाई सघाएको भन्दै दूधे बालकसहित आमा पक्राउ


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

धनगढी- प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्व कार्यकर्तालाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई हिरासतमा लिएको छ ।

हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको हो । सीताकी अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर-भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिएको छ ।

५ बच्चाकी आमा रहेकी सीतालाई प्रहरीले हिरासतमा राखेपछि उनका घरमा ४ जना बच्चाहरूको बिचल्ली भएको पुरनले दुखेसो सुनाए । सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई विप्लव कार्यकर्ता भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक खडकराज जोशीले हिरासतमा लिएकोबारे आफूहरूले पनि अनुसन्धान शुरू गरेको बताए । कसैसँग नाता भएकै कारण, घरमा बस्न दिएकै कारण, त्यो पनि दुधे बालकसहित हिरासतमा राख्नु प्रहरीको नियत गलत रहेको भन्दै सीतालाई हिरासतमुक्त गर्नुपर्ने संयोजक जोशीको भनाइ छ ।

तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले सीतालाई अपराधीको मतियार भएको कारण नियन्त्रणमा लिएको दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार